भारतमा निर्वाचन आयोगका मुख्य आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आन्दोलनमा रहेको ककरोच जनता पार्टी (सिजेपी)का दुई नेता सौरव दास र आशुतो रंकालाई ५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ।
निषेधित क्षेत्र तोकिएको जन्तरमन्तरमा प्रवेश गरेको आरोपमा मंगलबार पक्राउ परेका उनलाई बुधबार ५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।
दुई नेतालाई बुधबार विशेष कार्यकारी मजिस्ट्रेटमा उपस्थित गराइएको थियो। उनीहरूमाथि जन्तरमन्तरमा भेला हुन आह्वान गरेको र त्यहाँ आपराधिक आक्रमण गरेको आरोप लगाइएको थियो।
त्यसपछि मजिस्ट्रेटले उनीहरूलाई ५ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो।
सोही पार्टीका नेता अजिंक्य शिन्देलाई भने रिहा गरिएको छ।
प्रहरीले आइतबार दिल्ली क्यान्ट प्रहरी कार्यालयमा विशेष कार्यकारी मजिस्ट्रेटसमक्ष शान्ति भंग नगर्ने सर्तमा उनीहरूले गरेको कबुलियतसमेत उल्लंघन गरेको जिकिर गरेको थियो।
प्रहरीले उनीहरूलाई बाहिर छाड्दा पुनः अपराध गर्न सक्ने आशंका रहेको तर्कसमेत गरेको अधिवक्ता हेलाले हिन्दुस्तान टाइम्सलाई बताएका छन्।
दास र रंकालाई बुधबार बिहान करिब साढे ८ बजे मन्दिर मार्ग प्रहरी कार्यालयस्थित विशेष कार्यकारी मजिस्ट्रेटसमक्ष उपस्थित गराइएको थियो।
दास र रंकासहित सिजेपीका केही नेता तथा समर्थकले मंगलबार जन्तर मन्तरको बन्द ढोका नाघेर प्रदर्शनस्थलमा प्रवेश गरेका थिए।
उनीहरू भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको विरोधमा प्रदर्शन गर्न त्यहाँ पुगेका थिए। उनीहरूमध्ये केहीले राष्ट्रिय झन्डासमेत बोकेका थिए।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
रंकाले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको भिडिओमा उनी, दास र पार्टीका राष्ट्रिय संगठन प्रमुख शिन्दे बन्द ढोका चढेर जन्तर मन्तरभित्र प्रवेश गरेको देखिन्छ।
त्यसपछि त्यहाँ उपस्थित प्रहरीले उनीहरूलाई रोकेर नियन्त्रणमा लिएको थियो। ।
पार्टीका संस्थापक अभिजित दिप्केले आफ्ना नेताहरूलाई न्यायिक हिरासतमा पठाइएकोप्रति विरोध जनाएका छन्। उनले राष्ट्रिय झन्डा फहराउनु उनीहरूको गल्ती भएको हो? भन्दै प्रश्न गरेका छन्।
‘आशु र सौरवलाई पाँच दिन न्यायिक हिरासतमा पठाइएको छ। उनीहरूको गल्ती के हो? जन्तर मन्तरमा राष्ट्रिय झन्डा फहराउनु?’ उनले एक्समा लेखेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै उनले असहमतिका आवाज दबाउन खोजेको भए संकटकाल घोषणा गर्ने साहस देखाउनसमेत चुनौती दिएका छन्।
दिप्केले यसअघि दास, रंका र शिन्देलाई पक्राउ गरिएपछि ‘प्रतिरोधलाई निषेध गर्न सकिँदैन’ भन्दै प्रतिक्रिया दिएका थिए।