रोटरी क्लब अफ काठमाडौंले वीर अस्पतालको युरोलोजी विभागलाई करिब ५० लाख रुपैयाँ बराबरका सर्जिकल सामग्री सहयोग गरेको छ।
क्लबले मंगलबार एक समारोहबीच अस्पताललाई विभिन्न शल्यक्रियामा प्रयोग हुने उपकरण हस्तान्तरण गरेको हो।
सहयोग गरिएका सामग्रीमा फ्लेक्सिबल युरेटेरोस्कोप, नेफ्रोस्कोप, युरेटेरोरिनोस्कोप, टियूआर रिसेक्टोस्कोप र सिस्टोस्कोप लगायत छन्।
सामग्री हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ काठमाडौँका अध्यक्ष प्रा. डा. पुष्पराज शर्मा, आशिष जजोडिया लगायत सहभागी थिए।
अस्पतालका तर्फबाट निर्देशक डा. विकास नेपाल, निवर्तमान निर्देशक प्रा. डा. दिलीप शर्मा र युरोलोजी विभाग प्रमुख प्रा. डा. रविनबहादुर बस्नेत लगायत उपस्थित थिए।
कार्यक्रममा विभाग प्रमुख प्रा. डा. बस्नेतले रोटरीले मानव सेवाका लागि उपलब्ध गराएका उपकरणबाट देशभरका बिरामीलाई सस्तोमा उपचार सेवा दिन सकिने बताए।
अस्पतालका निर्देशक डा. नेपाल र निवर्तमान निर्देशक प्रा. डा. शर्माले सहयोगप्रति आभार व्यक्त गर्दै रोटरी र वीर अस्पतालबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।