आइसिसी क्रिकेट विश्वकप २०१९ - पहिलो सेमिफाइनल
भारत भर्सेस न्युजिल्यान्ड
स्थान– वल्ड ट्राफोड, म्यानचेस्टर
समय– दिउँसो सवा ३ बजे, असार २४, मंगलबार
टिमका महत्वपूर्ण खेलाडी घाइते भए पनि भारतले जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्यो। ओपनर शिखर धवन र अलराउन्डर विजय शंकर घाइते भएर स्वदेश फर्केको अवस्थामा भारतका लागि टिम सेट गर्नु पर्ने चुनौती थियो। यो चुनौती सहज रुपमा पन्छाएको भारत लिग चरणको शीर्ष स्थानमा रहने क्रममा ७ जित निकाल्यो। एक खेलमा पराजित भएको भारतको एक खेल भने वर्षाले रद्द भएको थियो।
भारतीय ओपनर रोहित शर्मा उत्कृष्ट लयमा छ। उनले पाँच शतक प्रहार गरिसकेका छन्। अर्का ओपनर लोकेश राहुलले पनि राम्रो ब्याटिङ गरिरहेका छन्। उनले पछिल्ला २ खेलमा ७७ रन र १११ रन जोडे।
जसप्रित बुमराहले भारतको बलिङको नेतृत्व गरिरहेका छन्। लगातार एकैनासको प्रदर्शन गरिरहेका बुमराह भारतका भरोसा हुन्। मंगलबारको खेलमा बुमराहबाहेक अन्य बलर छान्न भने कप्तान विराट कोहलीलाई गाह्रो पर्न देखिन्छ।
सन् २०१५ को विश्वकपको उपविजेता न्युजिल्यान्डले लिग चरणमा मिश्रित नतिजा निकाल्यो। सुरुवाती खेलमा लयमा देखिएको न्युजिल्यान्ड पछिल्ला खेलमा भने धर्मरायो।
न्युजिल्यान्डका सबै बलरले उस्तै खेलिरहेका छन्। कप्तान केन विलियमसनले ब्याटिङमा आफ्नो क्षमता देखाइरहेका छन्।
सुरुवाती ६ मध्ये ५ खेलमा न्युजिल्यान्ड विजयी भएको थियो। भारतविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो। त्यसपछि लगातार पराजित भएको न्युजिल्यान्ड अंक तालिकाको चौथो स्थानमा रह्यो।
पाकिस्तानलाई नेटरनरेटमा पछि पारेको न्युजिल्यान्डले सेमिफाइनलमा ओपनर मार्टिन गुपटिलबाट धेरै आसा गरेको छ। गुपटिलले जारी विश्वकपमा प्रभावशाली खेल देखाउन सकेका छैनन्।
पछिल्ला नतिजाले भारतलाई दाबेदार मानिएको छ। तर न्युजिल्यान्डले स्वभाविक खेल देखाएमा भारतलाई गाह्रो पर्ने देखिन्छ।
भारतले कप्तान विराट कोहलीबाट सेमिफाइनलमा उच्च प्रदर्शनको आसा गरेको छ। उनले जारी विश्वपकपमा एकैनासको ब्याटिङ गरिरहेका छन्। अहिलेसम्म शतक बनाउन नसके पनि उनले ८ खेलमा ४४२ रन बनाइसकेका छन्। सेमिफाइनलमा तीव्र दबाब हुने हुँदा त्यो झेल्न विराट सक्षम छन्।
न्युजिल्यान्डका लागि तीव्र गतिका बलर ट्रेन्ट बोल्ड मुख्य खेलाडी हुन्। उनी जारी विश्वकपमा न्युजिल्यान्डका लागि बढी विकेट लिने खेलाडी हुन्। ८ खेलमा १५ विकेट लिइसकेका उनले भारतविरुद्धको वार्मअप खेलमा ४/३३ को फिगरमा बलिङ गरेका छन्। सेमिफाइनलमा पनि उनी भारतका लागि खतरा बन्न सक्छन्।
मंगलबार म्यानचेस्टरमा बादल लाग्ने तथा वर्षा हुने पूर्वानुमान गरिएको छ। मंगलबार खेल हुन नसके बुधबारका लागि खेल स्थगित हुनेछ। मैदानमा खेलिएका पछिल्ला ५ खेलमा पहिले ब्याटिङ गरेका टिमले जितेका छन्।