महेन्द्र सिंह धोनी र विराट कोहलीको जुगलबन्दी जगजाहेर छ।
दुबै खेलाडी मैदान भित्र र बाहिर एकअर्कालाई सम्मान दिन्छन्। यसैबिच बिहिबार धोनी सामाजिक संजालमा ट्रेन्ड हुन थाले।
विराटले एउटा तस्वीर पोस्ट गरेपछि यस्तो भएको हो। यस पोस्टमा उनले धोनीप्रति आफ्नो सम्मान प्रकट गरेका छन्।
कोहलीले ट्वीट गरेको तस्विर भारत र अस्ट्रेलियाबिच मोहालीमा सन् २०१६ मा भएको टि-२० विश्वकप क्रिकेटको हो।
'म यो म्याचलाई कहिले पनि बिर्सन सक्दिन। त्यो एकदमै खास रात थियो, जब यो मानिसले मलाई फिटनेस टेस्ट लिए झैं दौडाए', कोहलीले पोस्ट गरेको तस्वीरमा लेखेका छन्।
यस तस्वीरमा विराट घुँडा मारेर जितको खुशीयाली मनाउँदैछन् भने धोनी उनीतर्फ लम्किरहेका छन्। अस्ट्रेलियाले यस खेलमा भारतलाई १६१ रनको लक्ष्य दिएको थियो र खेल भारतले पाँच बल बाँकी छँदै ६ विकेटले जितेको थियो।
यस खेलमा कोहलीले भारतका लागि सर्वाधिक ८२ रन जोडेका थिए भने धोनीले १० बलमा १८ रनको पारी खेलेका थिए। दुबैले ३१ बलमा अविजित ६७ रनको साझेदारी गरेका थिए।
यो तस्वीर पोस्ट भएपछि धेरैले सामाजिक संजालमा धोनीले संन्यासको निर्णय गरेको अनुमान लगाएका छन्। उनीहरूको विचारमा यसको जानकारी धोनीले विराटलाई दिइसकेका छन्।
स्मरण रहोस्, धोनीले विश्वकप पनि एक म्याच पनि खेलेका छैनन्। टोली वेस्ट इण्डिज भ्रमणमा जाँदा उनी सेनाको साथमा थिए भने दक्षिण अफ्रिकाविरूद्धको सिरिजका लागि पनि धोनीलाई टोलीमा राखिएको छैन्।
अब यस्तोमा कोहलीको यो ट्विटको खास अर्थ के हो?। धेरैले धेरैथरी अनुमान लगाइरहेका छन्।