कोलकाता शिक्षा, खेलकुद र संस्कृतिका लागि प्रसिद्ध थियो। फुटबलमा झन् धेरै प्रख्यात थियो। फुटबलका थुप्रै राम्रा क्लब खुलिसकेका थिए। फुटबलमय वातावरण स्कुलसम्म नै पुगेको थियो। निम्म माध्यमिक तहमा पढ्दा हामी पनि फुटबल निकै खेल्यौँ।
कलिलो उमेरमा फुटबलले आकर्षित गरेको थियो। एथ्लेटिक्सका इभेन्टले पनि तानेकै थियो। क्रिकेटको ब्याट र बल छुने तरखर थियो। खेलमा रमाउने साथीहरू बडा पप्पु, सत्येन्द्र गुप्ता, दिनेश, राजु, छोटा अकबर, बडा अकबर, नजिर, असगर, दिलीप आदि थिए। मेरो ठूलो दाइ यामबहादुर क्षेत्रीले पनि फुटबल राम्रै खेल्नु हुन्थ्यो। फुटबल र क्रिकेटमा रहर पलाउँदै थियो। बङ्गाली टोलमा क्रिकेट खुबै खेलिन्थ्यो। त्यो देखेर मेरो मनमा पनि रहर जागेको थियो। साथीहरूको लहलहैमा लागेर टोलमा क्रिकेट खेल्ने ठाउँमा पुगेँ।
क्रिकेट खेलिरहेका मध्ये एक बङ्गालीले सोधे, ‘नाम के हो ?’
‘लेखबहादुर क्षेत्री,’ मैले भनेँ।
‘बहादुरले पनि कहीँ क्रिकेट खेल्छन् ? कतै देखेका छौ ?’ उनले मेरो नाम सुनेरै पत्याएनन्।
भारतमा बहादुर भन्नासाथ गोर्खा सैनिक वा घरेलु कामदार वा चौकीदार नेपाली सम्झिइन्थ्यो। म गोर्खा सैनिक थिइनँ, स्कुले फुच्चे विद्यार्थी थिएँ। नेपालमा क्रिकेट खेलिन्न भन्ने ठानेर उनले त्यसो भनेका थिए होलान्। उनले त्यसरी मलाई नपत्याउँदा मेरो रहरमा नराम्ररी ठेस लागेको थियो। एक ढङ्गले म अपमानित भएर फर्केको थिएँ। सँगै, उनले मलाई चुनौती दिएझैँ लाग्यो। घर फर्किंदासम्म मनमा एउटै कुरा खेलिरह्यो। क्रिकेट बहादुरहरूले खेल्न नहुने खेल हो र?
खेलकुदको अरू महत्व र गहिराइ बुझ्ने मेरो उमेर थिएन। तैपनि, ममा क्रिकेट खेलेर यो बहादुरको पनि खेल हो भन्ने देखाउनुपर्छ भन्ने इख कताकता पलायो। मैले मनमनै अठोट गरेँ, म क्रिकेट खेलेरै देखाउँछु। बङ्गाली केटाहरूले जिस्क्याएपछि मेरो क्रिकेटर रहर दोब्बर बढ्यो।
टोलका दुई–चार साथी मिलेर टेनिस बलले क्रिकेट खेल्न थाल्यौँ। बस्तीनजिक खेल्ने ठाउँ भएकाले टाढा जानु पर्दैनथ्यो। एकमाथि अर्को इँट्टा खप्टाएर स्टम्प (विकेट) बनाउँथ्यौँ। फुर्सद भयो कि क्रिकेट। १० र ११ कक्षा पढ्दा त्यो क्रम निकै बढ्यो। स्कुलमा लेखबहादुर भए पनि मेरो बोलाउने नाम गोपाल थियो। म बायाँ हातले बलिङ र ब्याटिङ गर्थें। सितिमिति आउट हुँदैनथेँ। हत्तपत्त आउट गर्न नसक्ने भनेर साथीहरूले मलाई अन्तिममा ब्याटिङ गर्न दिन्थे।
टोलभित्रको मैदानमा खेल्दा थुपै्र गाली सुन्नुपथ्र्यो। खेल्न त टेनिस बलले नै खेल्थ्यौं। तैपनि, कहिले कसको झ्याल फुट्थ्यो। कहिले कसलाई लाग्थ्यो। अनेक गाली सुनेर हामीले क्रिकेटको अभ्यास गथ्र्यौं। टोल–टोलका म्याच पनि हुन्थे। मेरो टोल ७५ पल्ली थियो। मैले टोलको टिमबाट खेल्न पाएँ। राम्रो खेलेपछि टोलभरि मलाई चिन्न थाले। सबैसँग राम्रो घुलमिल भयो। बिस्तारै टाढा–टाढाका टोलसँग पनि हामी खेल्न थाल्यौँ। थुप्रैपटक जित्यौँ पनि। जतिजति हाम्रो टोली अघि बढ्दै थियो, मेरो क्रिकेट यात्राले पनि वामे सर्दै थियो।
त्यतिबेलै हो, मेरो परिचय नुर आलम र जाफर अलीसँग भएको। उनीहरू सेन्ट थोमसमा पढ्थे। यी साथीहरूसँग मिलेर प्रतियोगिता खेल्न थाल्यौँ। भुकैलास पद्दोपुकुर, चौहत्तरपल्ली, काँटापुकुर आदि ठाउँमा क्रिकेट खेल्न गयौँ। त्यतिबेला स्थानीय प्रतियोगिता पनि टेनिस बलमै खेलाइन्थे। यी खेलबाट मैले खेल सुधार्ने धेरै अवसर पाएँ।
टेनिस बलमा राम्रो खेल्ने खेलाडीको सानोतिनो परिचय मैले बनाइसकेको थिएँ। क्रिकेटको कुरा आउँदा एक अंश चर्चा मेरो खेलको पनि हुन्थ्यो। हाम्रो टिममा टेनिस बलका प्रतियोगितामा लेदर बलका खेलाडी पनि थिए। एकपटक क्रिकेट एसोसिएसन अफ बङ्गालबाट फस्ट डिभिजनमा खेल्ने वाईके चौधरी र उनी सम्मिलित टिमसँग हाम्रो खेल मिलन सङ्घ मैदानमा भएको प्रतियोगितामा भयो। मैले उहाँहरूविरुद्धको खेलमा ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरेँ। उनको चर्चा आउट स्विङ बलरका रूपमा थियो। पछि उनले इस्टर्न रेलवेमा जागिर पाए। चौधरीले त्रिपुराबाट रणजी ट्रफी पनि खेले।
रणजी ट्रफी समग्र भारतकै प्रतिष्ठित प्रतियोगिता मानिन्छ। बङ्गाल क्रिकेटका अर्का क्रिकेटर इमरान खान आएको बेला पनि मैले राम्रै खेलँे। मेरो ‘लेफ्टह्यान्ड बल र ब्याटिङ हेरेपछि मलाई चौधरीले मोहम्मडन स्पोर्टिङ क्लबको कोचिङ सेन्टरमा आउन भने। त्यहाँ मुनब्बर अलीले सिकाउँथे। चौधरी पनि त्यहाँ अभ्यास गर्न जान्थे।
चौधरीले भनेका थिए, ‘तिम्रो राम्रो सम्भावना छ। आउँदा राम्रो हुन्छ।’ मुनब्बर अली त्यसबेलाका निकै ख्याति कमाएका प्रशिक्षक थिए। मोहम्मडन स्पोर्टिङ क्लब भनेको त्यसबेलाको मोहन बगान, इस्ट बङ्गाल र मोहम्मडन स्पोर्टिङ क्लब थियो। मोहम्मडन स्पोर्टिङ क्लबहरू चर्चित क्लब हुन्। ती सबै आफैँमा भारतको ठूलो क्लबमा पर्थे। ती डेम्पो र चर्चिल त्यसपछि आएका क्लब थिए। सन् १९८८ मा म मोहम्मडन क्लबको कोचिङ सेन्टरमा गएँ। प्रशिक्षक मुनब्बर अलीसँग परिचय भयो।
‘मलाई वाईके चौधरीले पठाउनु भएको,’ मैले आफ्नो परिचय दिएँ। उनले मलाई तलदेखि माथिसम्म एकपटक नियाले र भने, ‘पहिले यहाँ उभिएर खेल हेर।’ मैदानमा अरू खेलिरहेका थिए। मैले दुई दिनसम्म त्यहीँ हेरेर बसेँ। अरू तीन दिन उनले नेट र बल ल्याउने लैजाने काममा लगाए। पाँच दिनसम्म सिकाउने सुरसार नै गरेनन्। सायद उनी मभित्रको क्रिकेट सिक्ने इच्छा मापन गर्न चाहन्थे। मेरो इच्छाशक्ति र धैर्यको मापन गर्दै थिए। उनका हरेक निर्देशन पालना गरेपछि उनले छैटौँ दिनदेखि सिकाउने सङ्केत देखाए।
‘गोपाल लाइन मे खडे हो जाओ,’ उनले आदेश दिए। सुरुमा अरूले ब्याटिङ गरेका बल समात्न मात्र लगाए। क्रिकेट सिक्नु भनेको सुरुमै ब्याटिङ गर्ने हो भन्ने मलाई लागेको थियो। होइन रहेछ। उनले त फिल्डमा दौडाएको दौडाइ पो गराए। यसमा पनि उनले मेरो परीक्षा लिइरहेका थिए। गुरुको आज्ञा शिरोपर नै मेरो कर्तव्य थियो, त्यसैले म विचलित भइनँ। उनीकहाँ पुगेको डेढ हप्तापछि बल्ल उनले बलिङ सिकाउन सुरु गरे। ब्याटिङ त अझ कहिले हो, टुङ्गो थिएन। मैले पहिले पेस बल (मिडियम फास्ट बलिङ) गर्थें। वाईके र मुनब्बर अली दुवै जनाले मेरो उचाइका कारण लेफ्टह्यान्ड स्पिनर बन्न सुझाव दिए। मैले नचाहेरै त्यो स्वीकारेँ। मसँग विकल्प पनि त थिएन ! र, म लेफ्टह्यान्ड स्पिनर भएँ।
अब मेरो बलिङ सुध्रिएको थियो। केही दिनपछि मैले ब्याटिङको पनि अवसर पाएँ। ब्याटिङमा पनि मेरो आउट नहुने पाराको लेफ्टह्यान्ड नै थियो। त्यसैले मेरो ब्याटिङ पनि वाईके चौधरी र मुनब्बर अलीले मन पराए।
‘तिमीले राम्रो गर्न सक्छौ, तिमीमा पोटेन्सियल छ’ भन्ने आशयमा मेरो पिठमा धाप मार्दै हौसला दिए। प्रशिक्षक मुनब्बर अलीले वाईके चौधरीलाई भनेछन्, ‘तिमीले एकदम राम्रो, मिहिनेती बच्चा ल्याएर राम्रो गर्यौ। यसले केही गर्न सक्छ।’ म दैनिक एक घन्टा फिल्डिङ अभ्यास गर्थें। नेटमा डेढ–दुई घन्टा अभ्यास गर्थें। क्रिकेटको नशा लाग्दै थियो। बेलाबेला बङ्गाली केटाहरूलाई सम्झिन्थेँ। र, मनमनै अठोट गर्थें, ‘बहादुरले पनि क्रिकेट खेल्नेछन्।’
खेल हेरेर मुनब्बर सरले मलाई मोहम्मडन स्पोर्टिङ क्लबको जुनियर टिममा छनोट गरे। त्यहाँ दुई टिम थिए, जुनियर र सिनियर। अफ सिजनमा यी दुवै टिम खेल्न बाहिर जान्थे। सिजनका बेलामा रणजी ट्रफी र लिगहरू खेल्थे। सन् १९८८ मा क्यानोपी ट्रफी हुँदै थियो, बैङ्गलोरमा।
पहिलोपटक म कुनै कोचिङ सेन्टरको जुनियर टिमबाट त्यसका लागि छनोट भएको थिएँ। क्यानोपी ट्रफीमा मेरो खेल राम्रै थियो। बलिङ राम्रो गरेँ। तीनवटा म्याचमा सात विकेट लिएँ। ब्याटिङ पनि ठीकठीकै रह्यो। मलाई उनीहरूले बलिङमै बढी अपेक्षा गरेका थिए। त्यो पहिलो खेल टुरमा मैले उदीयमान खेलाडीको उपाधि पाएको थिएँ। अहिले पनि सम्झिन्छु, विसनसिंह बेदीको हातबाट पाएको क्रिकेट खेल्दा लगाउने स्वीटर पुरस्कार। बेदी भारतका उत्कृष्ट टेस्ट खेलाडी र भारतका पूर्वकप्तान अनि मजस्तै बायाँ हाते स्पिनर हुन्। उनी पछि भारतीय राष्ट्रिय टिमको प्रशिक्षक पनि भए।
त्यो प्रतिस्पर्धाले मेरो खेलको गति नै बदलिदियो। साथीभाइबीच मेरो चर्चा बढ्यो। वाईके, मुनब्बर सर पनि खुसी भए। मजहर अली, इरफान खान, अरिन्दम चौधरी, अरसद बेग, विवेक कपुर, राजश्री चौधरी आदिले मेरो खेलको प्रशंसा गरेका थिए। बैङ्गलोर भ्रमणबाट मेरो हाउभाउ, उठबस, बोलीचाली सबै परिवर्तन भयो।
ठूलो प्रतियोगितामा धेरै मानिससँगको भेटघाटले मलाई धेरै सिकाएको थियो। मैदानको अनुभवले आत्मविश्वाससँगै मनोवैज्ञानिक आत्मबल पनि बढ्यो। सबैभन्दा ठूलो कुरा म क्रिकेटर भएँ भन्ने पहिलोपल्ट महसुस भएको थियो। हिजो क्रिकेट मैदानमै मलाई जिस्क्याउने, हाँसोको पात्र बनाउनेहरूलाई मैले मनमनै धन्यवाद दिएँ। सँगै, जवाफ पनि दिएँ– ‘हो, बहादुरले पनि क्रिकेट खेल्छन्।’
(नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान एलबी क्षेत्रीको आत्मकथा 'कप्तान १९९८' को पुस्तक अंश। पुस्तकलाई क्रिएटिभ बुक्सले बजारमा ल्याएको हो)