पाकिस्तान साहिन्स राइजिङ स्टार्स एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ।
कतारको दोहामा गएराति भएको दोस्रो सेमिफाइनलमा बंग्लादेश ए लाई हराउँदै पाकिस्तान ए फाइनलमा पुगेको हो।
बंगलादेश एले दिएको २३३ रनको लक्ष्य पाकिस्तान एले ४५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
पाकिस्तानको जितमा हसन नवाजले ६२ र शाहजैब खानले ५० रन बनाए। कप्तान अब्दुल समदले ४४ तथा फरहान युसुफले अविजित ४६ रन जोडे।
एक समय २१ रनमै दुई विकेट गुमाएको पाकिस्तानलाई नवाज र शाहजैबले सम्हालेका थिए।
यी दुईले चौथो विकेटका लागि ११० रनको साझेदारी गरेपछि पाकिस्तान जिततर्फ अघि बढेको थियो।
प्रतियोगितामा पहिलो खेल खेलिरहेका शाहजैबले अर्धशतक बनाए भने नवाजले पनि ६२ रनको योगदान दिए।
यी दुई आउट भएपछि समद र युसुफले पाँचौं विकेटका लागि ७४ रनको साझेदारी गरे।
समद ४४ रनमा आउट भए पनि पाकिस्तानलाई जितका लागि त्यतिबेला नौ रन मात्रै आवश्यक थियो। युसुफले अविजित रहँदै टोलीलाई जित दिलाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश एले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको थियो। उसका लागि शाहादत हुसेनले अविजित १०३ रन बनाए।
उनले ११८ बलमा सात चौका र तीन छक्का प्रहार गरे। माहिदुल इस्लाम अंकोनले ४२ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए।
पाकिस्तानका सुफियान मोकीमले तीन विकेट लिए। हसन नवाज र अली रजाले दुई-दुई विकेट लिए।
बंगलादेशले १५ रन बनाउँदा दुवै ओपनर गुमाएको थियो। त्यसपछि अंकोन र शाहादतले पारी सम्हाले पनि मोकीमको लगातार विकेट लिने प्रदर्शनले बंगलादेश दबाबमा परेको थियो। उनले दुई ओभरभित्र तीन विकेट लिएपछि बंगलादेशको स्कोर ११० रनमा दुई विकेटबाट ११८ रनमा पाँच विकेट पुगेको थियो।
अन्तिम विकेटका लागि रिपोन मण्डल र शाहादतले ४० रनको साझेदारी गर्दै बंगलादेशलाई २३२ रनसम्म पुर्याएका थिए। अन्तिम ओभरमा १५ रन जोड्ने क्रममा मण्डलले छक्का प्रहार गरे भने शाहादतले शतक पूरा गरेका थिए।
अब पाकिस्तान एले उपाधिका लागि आइतबार श्रीलंका एसँग खेल्नेछ। पाकिस्तान ए प्रतियोगिताको साविक विजेता पनि हो।