श्रीलंकाका क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन्। उनले चलाएको गाडीको ठक्करबाट ६४ वर्षीय साइकल चालकको मुत्यु भएपछि मेन्डिस पक्राउ परेका हुन्।
आइतबार विहान दक्षिण कोलम्बोमा २५ वर्षीय मेन्डिजले चलाएको कारको ठक्करबाट साइकल चालक सुरुमा गम्भीर घाइते भएका थिए। तत्काल अस्पताल लगिएका उनको मृत्यु भएको थियो।
श्रीलंकाको पानाडुरा न्यायलयमा मुद्दा चल्नुअघि उनलाई प्रहरीले ४८ घन्टा हिरासतमा राख्न सक्नेछ। यो अवधिमा प्रहरीले अनुसन्धान गर्नेछ।
प्रहरीले मेन्डिस र साइकल चालकले रक्सी खाएको वा नखाएको विषयमा केहि खुलाएको छैन।
कोरोना भाइरसका कारण श्रीलंका अहिले पनि लकडाउनको स्थिति छ। यद्यपी क्रिकेटर मेन्डिसलाई गाडी चलाउन अनुमती थियो।
उनी गत बुधबार सकिएको श्रीलंकाको अभ्यास क्याम्पमा सहभागी थिए।
श्रीलंकाका लागि ४४ टेस्ट, ७६ एकदिवसीय र २६ टी–२० खेलेका विकेटकिपर ब्याट्सम्यान मेन्डिसले टेस्टमा ७ र एकदिवसीय खेलमा २ शतक प्रहार गरेका छन्।