मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका क्रिकेटर ललित भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
उनको कोहलपुर मेडिकल कलेजमा उपचार भएकोमा थप उपचारका लागि सोमबार काठमाडौंको ग्राण्डी अस्पतालमा हेलिकोप्टरमार्फत ल्याइएको हो। उनको दुवै हात र खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएकाले काठमाडौं ल्याइएको हो।
उनले चलाएको मोटरसाइकललाई मिनिट्रकले ठक्कर दिँदा भण्डारीसहित दुई जना घाइते भएका थिए।
आइतबार बेलुकी ७ बजे शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा दुर्घटना भएको थियो।
उनको चोट निको हुन ६ महिना लाग्न सक्ने फुपाजु रामसिंहले बताए। ‘डाक्टरले के भन्छन् त्यसमा भर पर्छ अहिलेको अवस्था हेर्दा खेल्न सक्ने अवस्थामा पुग्न ६ महिना जति लाग्न सक्छ’, उनले भने।
भण्डारीको उपचार खर्च परिवारले नै व्यहोरिरहेको छ। उनका साथीहरुले काठमाडौं लैजान मद्दत गरेका छन्। लकडाउनपछि खेल गतिविधि बन्द भएकाले भण्डारी कञ्चनपुर घर गएका थिए।
२४ वर्षीय भण्डारी तीन वर्षअघि राष्ट्रिय टिममा परेका थिए। बायाँहाते मिडियम पेसरलाई सन् २०१२ सम्म क्रिकेटको रुची थिएन।
भारतमा हुर्किएका ललित एसएलसी परीक्षा दिएपछिको फुर्सद समय बिताउन आफ्नो घर महेन्द्रनगर झलारी आएका थिए। महेन्द्रनगरमा साथीहरूले क्रिकेट खेलेको देखेपछि उनले पनि रमाइलोका क्रिकेट खेल्न थालेका थिए।
सुरुमा यू-१९ र सिनियर टोलीबाट क्षेत्र नम्बर ९ को प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिता खेलेका थिए। त्यसपछि उनी नेपाल पुलिस क्लबबमा आबद्ध भए।
उनी २०७४ मा राष्ट्रिय टिममा परेका थिए। प्रधानमन्त्री कपको प्रदर्शनले उनी राष्ट्रिय टोलीको क्याम्पमा पर्न सफल भएका थिए।