सशस्त्र प्रहरी बलको एपिएफ क्लब लिग चरणमा अपराजित रहदै फाइनल खेल्ने पक्का भएको छ। लगातार चौथो जित निकाल्ने क्रममा बिहीबार एपिएफले सुदूरपश्चिमलाई ३ विकेटले पराजित गर्यो।
सुदूरले दिएको ११२ रनको लक्ष्य एपिएफले ७ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पूरा गर्यो।
एपिएफका लागि ममता चौधरीले नटआउट३२ रन जोड्दा रोमा थापाले २३ रन र सरिता मगरले १९ रनको योगदान गरे। त्यसअघि ओपनर राजमती ऐरी ११ रन, कप्तान सीता रानामगरले ५ रन र इन्दू बर्मा ४ रनमै आउट भए।
बलिङमा सुदरकी लक्ष्य साउदले २ विकेट लिइन्। बाँकी पाँच बलरले एक एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले ५ विकेटको क्षतिमा १११ रन जोड्यो। सुदूरका लागि रुबी पोद्दारले २९ रन, कप्तान विन्दू रवालले ३६ रन र कविता जोशीले नटआउट २९ रन जोडे।
बलिङमा एपिएफका रेखा रावल र इन्दू बर्माले १-१ विकेट लिए। सुदूरका तीन ब्याटर रनआउट भएका थिए। अन्तिम खेलअघि ४ अंक जोडेर दोस्रो स्थानमा रहेको सुदरको पनि फाइनल सम्भावना बाँकी नै छ।