चेन्नई सुपर किंग्सलाई पराजित गर्दै पञ्जाब किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो स्थानमा उक्लिएको छ।
गएराति एमए चिदम्बरम स्टेडियममा भएको खेलमा चेन्नईलाई ४ विकेटले पराजित गर्दै पञ्जाब अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।
चेन्नईले दिएको १९१ रनको लक्ष्य पञ्जाबले २ बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टाएको थियो।
पञ्जाबका लागि कप्तान श्रीयास ऐयर र प्रबशिमरन सिंहले अर्धशतक हाने।
ऐयरले ४१ बलमा ५ चौका र ४ छक्का हान्दै ७२ रन बनाए। सिंहले ३६ बलमा ५ चौका र ३ छक्का हान्दै ५४ रन बनाए।
ओपनर प्रियान्स आर्या र सशांक सिंहले २३/२३ रन बनाए।
बलिङतर्फ खलिल अहमद र मथिशा पाथिरनाले २/२ तथा रविन्द्र जडेजा र नूर अहमदले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको चेन्नईले १९.२ ओभरमा अल आउट हुँदै १९० रन जोडेको थियो।
चेन्नईका लागि साम करणले ८८ रन बनाएका थिए। उनले ४७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे।
डेवल्ड ब्रेविसले ३२ र रवीन्द्र जडेजाले १७ रन बनाउनुबाहेक अन्य ब्याटर चल्न सकेनन्। कप्तान महेन्द्रसिंह धोनी ११ रनमा आउट भए।
बलिङतर्फ पञ्जाबका युजवेन्द्र चाहलले ४ विकेट लिए। अर्शदीप सिंह र मार्को जनसेनले २/२ तथा अज्मतउल्लाह ओमरजइ र हरप्रित ब्रारले १/१ विकेट लिए।
दोस्रो स्थानमा उक्लिएको पञ्जाबको १३ अंक छ। पराजित भएको चेन्नई ४ अंकसहित पुछारमा छ। १४ अंक जोडेर रोयल च्यालेन्जर्स बेंग्लुरू शीर्षस्थानमा छ।