आइपिएल २०२५ को लिग चरणको खेल अन्त्यतिर पुगेका छन्। १० टोली सहभागी आइपिएलमा सबैले लिग चरणमा १४-१४ खेल खेल्छन्।
जसमा शीर्ष चार टोली प्लेअफमा पुग्छन्। शीर्ष दुई टोलीले क्वालिफायरमा स्थान पक्का गर्दा तेस्रो र चौथो हुने टोलीले एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्।
आइपिएल २०२५ मा अहिलेसम्म कुनै पनि टोलीले आधिकारिक रूपमा प्लेअफमा स्थान बनाएका छैनन्। तर शीर्ष स्थानको रोयल च्यालेन्जर्स बेंगलुरुसहित पञ्जाब किंग्स, मुम्बई इन्डियन र गुजरात टाइटन्सको प्लेअफ सम्भावना बलियो छ।
बेंगलुरुको ११ खेलबाट १६ अंक छ भने नेटरनरेट +०.४८२ रहेको छ। बेंगलुरु एक जितले प्लेअफ पुग्नेछ। बेंगलुरुले लखनऊ, हैदरावाद र कोलकतासँग खेल्न बाँकी छ। यीमध्ये दुई जितले उसले शीर्ष दुई स्थान पक्का गर्न सक्छ।
यता ११ खेलबाट १५ अंक जोडेको दोस्रो स्थानको पञ्जाब किंग्स पनि प्लेअफ नजिक छ। पञ्जाबको पनि तीन खेल खेल्न बाँकी छ एक जितले उसको सम्भावना बलियो हुनेछ। पञ्जाबले दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र राजस्थान रोयल्ससँग खेल्न बाँकी छ।
तेस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सको ११ खेलमा १४ अंक छ। लगातार ६ खेल जितेर लयमा रहेको मुम्बईको बाँकी तीन खेलमा दुई जितले १८ अंकमा हुँदा प्लेअफ पुग्न पर्याप्त हुनेछ। नेटरनरेटका राम्रो भएको उसले अरु टोलीको हारबाट पनि फाइदा उठाउन सक्छ। मुम्बईले गुजरात, पञ्जाब र दिल्लीसँग खेल्न बाँकी छ।
गुजरात टाइटन्स १० खेलमा १४ अंक जोड्दै चौथो स्थानमा छ भने रनरेट ०.८६७ छ। चार खेल्न बाँकी उसका तीन खेल घरेलु मैदानमा हुनेछन्। तीन जितले प्लेअफ पुर्याउनेछ। यद्यपी राम्रो रनरेटका कारण अरु टोलीको नतिजाले पनि उसलाई फाइदा पुग्नेछ। गुजरातले चेन्नई, मुम्बई, दिल्ली र लखनऊसँग खेल्न बाँकी छ।
पाँचौ स्थानको दिल्ली क्यापिटल्स प्लेअफ दौडमा छ। उसको १० खेलबाट १२ अंक छ। सिधा हिसाबमा उसलाई तीन जित आवश्यक छ। शीर्ष चारमा रहेका टोलीलाई हराउन सके पनि दिल्लीको सम्भावना बलियो हुनेछ। दिल्लीले अब शीर्ष चारमा रहेका मुम्बई, पञ्जाब र गुजरातसहित हैदरावादसँग खेल्न बाँकी छ। शीर्ष चारमा रहेका तीन टोलीमध्ये एक टोलीलाई हराए पनि उसको सम्भावना निकै बलियो हुनेछ।
छैटौं स्थानको कोलकता नाइटराइडर्सको ११ खेलबाट ११ अंक छ। बाँकी तीन खेलमा उसले तीनै खेल जिते पनि प्लेअफमा पुग्न अरु टोलीको नतिजामा भर पर्छ। दुई खेल जिते पनि उसको सम्भावना हुनेछ तर न्यून। एक खेल मात्र जित्न सके कोलकता बाहिरिनेछ। उसले अब चेन्नई, हैदरावाद र बेंग्लोरसँग खेल्न बाँकी छ।
लखनऊ सुपर जायन्ट्स ११ खेलबाट १० अंक जोडेर सातौं स्थानमा छ। अब बाँकी खेल तीनै खेल जिते पनि उसको सम्भावना कमजोर छ। उसले हैदरावाद, बेंगलुरु र गुजरातसँग खेल्न बाँकी छ। एक हारले उसको यात्रा समाप्त हुनेछ। लखनऊलाई प्लेअफमा पुग्न तीन खेलमा ठूलो मार्जिनको जित र अन्य टोलीहरूको हारमा निर्भर हुनुपर्छ।
सनराइजर्स हैदराबाद १० खेलबाट ६ अंक जोडेर पुछारबाट दोस्रो अर्थात नवौं स्थानमा छ। उसले बाँकी चार खेलमा चारै खेलमा जित निकाले १४ अंक हुनेछ र चौथो स्थानको गुजरातसँग अंक बराबरी हुने स्थिति छ। तर त्यसका लागि गुजरात मात्र होइन अरु तीन टोली पनि सबै खेल हार्नु पर्छ। त्यसैले हैदरावाद प्लेअफ होडबाट बाहिरिएको छ। गणितले मात्र उसको सम्भावना देखिएको हो।
यता आठौं स्थानको राजस्थान रोयल्स र दशौं स्थानको चेन्नई सुपरकिंग्स भने प्लेअफ दौडबाट बाहिरिएका टोली हुन्। चेन्नई प्लेअफबाट बाहिरिने पहिलो टोली बन्दा आइतबार राजस्थानले कोलकतासँग एक रन हार ब्यहोरेसँगै बाहिरिने दोस्रो टोली बनेको थियो।
प्लेअफमा पुग्ने बलियो अवस्थाका टोली : बेंगलुरु, पञ्जाब, मुम्बई र गुजरात
सम्भावना भएका टोली : दिल्ली र कोलकता
कमजोर सम्भावना: लखनऊ
औपचारिक रुपमा बाहिरिन बाँकी : हैदरावाद
बाहिरिएका : चेन्नई र राजस्थान