काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनमा दोस्रो संस्करणको ‘जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ सोमबारदेखि सुरू भएको छ।
पहिलो दिन तीन वटा मैदानमा ६ खेल भएका छन्। मुलपानीको माथिल्लो र तल्लो तथा त्रिवि क्रिकेट मैदानमा पहिलो दिनका ६ खेल भएका हुन्।
जसमा समूह 'ए' को खेलमा साविक विजेता सैनिक आवासीय महाविद्यालयले विजयी सुरूवात गरेको छ। सैनिकले तल्लो मुलपानी मैदानमा भएको खेलमा नेक्सास इन्टरनेसनल एकेडेमीमाथि ३ रनको रोमाञ्चक जित हात पार्यो।
पहिले ब्याटिङ गरेको सैनिक १०.१ ओभरमा ४० रनमै अलआउट भएको थियो। जवाफी ब्याटिङ गरेको नेक्सास १३.१ ओभरमा ३७ रनमै अलआउट हुन पुग्यो। सैनिकका लागि ८ रन खर्चिएर ३ विकेट लिएका राजदिप पौडेल प्लेयर अफ दि म्याच भए।
समूह 'बी' को खेलमा मोक्षदा स्कुलले त्रियोग स्कुललाई १३५ रनको फराकिलो अन्तरले पराजित गर्यो। माथिल्लो मुलपानी मैदानमा भएको खेलमा मोक्षदाको जितमा नटआउट ९५ रन बनाएका इशान शाह सुवेदी प्लेयर अफ दि म्याच भए।
समूह 'सी' को खेलमा ग्यालेक्सी पब्लिक स्कुलले रिडियन्ट रिडर्स एकेडेमीलाई ४४ रनले हरायो। ग्यालेक्सीको जितमा ३६ रन र २ विकेट लिएका स्विकृत रिजाल प्लेयर अफ दि म्याच भएका छन्।
यता समूह 'डी' को खेलमा रत्नराज्य स्कुलले जित निकालेको छ। विजयी सुरूवात गर्ने क्रममा रत्नराज्य स्कुलले भ्याली पब्लिक स्कुललाई ८ विकेटले पराजित गरेको छ। रत्नराज्यको जितमा ५ विकेट लिएका अतित आर्चाय प्लेयर अफ दि म्याच भए।
डिएभी स्कुलको ए टोलीले समूह 'ई' को खेलमा जित निकाल्दै विजयी सुरूवात गर्यो। उसले अक्षरा स्कुललाई ७९ रनको फराकिलो अन्तरले पराजित गर्न सफल भयो। त्रिवि मैदानमा भएको खेलमा डिएभीको जितमा प्लेयर अफ दि म्याच भएका प्रसिद्ध जैशीले नटआउट ८९ रनको योगदान दिएका थिए।
एलआरआई स्कुलले पनि पहिलो खेलमा जित निकालेको छ। समूह 'एफ' को खेलमा उसले डिएभी स्कुलको 'बी' टोलीलाई २ विकेटले पराजित गर्यो। एलआरआईका लागि १ विकेट र नटआउट ४९ रन बनाएका अनुप सिंह प्लेयर अफ दि म्याच भएका छन्।
२१ टोलीले भाग लिएको यो प्रतियोगितालाई वर्षको एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोट प्रतियोगिताका रूपमा समेत लिइएको छ। यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई काठमाडौं जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू-१६ टोलीको छनोटका लागि अवसर दिइनेछ।