भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले पहलगाम आतंकवादी हमलापछि पाकिस्तानसँग न्यूट्रल भेन्यूमा हुने खेल समेन खेल्न नहुने बताएका छन्।
गम्भीरले मंगलबार दिल्लीमा आयोजित एक कार्यक्रममा पाकिस्तानसँग कुनै खेल खेल्न नहुने प्रतिक्रिया दिएका हुन्।
पहलगाम आतंकवादी हमलापछि मंगलबार राति भारत र पाकिस्तानबीच आक्रमण सुरू भएको छ। जम्मू कश्मिरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ मारिएको घटनाको १५ दिनमा भारतले पाकिस्तानमाथि आक्रमण गरेको हो।
भारतले सन् २०१३ को जनवरीदेखि पाकिस्तानसँग द्विपक्षीय क्रिकेट सिरिज खेलेको छैन। भारत र पाकिस्तानबीच एसिया कप र आइसीसी इभेन्टमा भने प्रतिस्पर्धा हुने गरेको छ। पछिल्लो पटक २०२५ च्याम्पियन्स ट्रफीमा दुबईमा भारत र पाकिस्तान खेलेका थिए।
भारत र पाकिस्तानबीच निकट भविष्यमा महिला एकदिवसीय विश्वकप, पुरुष एसिया कप र सन् २०२६ मा हुने पुरुष टी-२० विश्वकपमा एक अर्कासँग खेल्ने सम्भावना छ।
यस्ता प्रतियोगितामा समेत पाकिस्तानसँग खेल्न नहुने प्रशिक्षक गम्भीरको भनाइ छ। पाकिस्तानसँग खेल्ने/नखेल्ने निर्णय गर्ने अधिकार सरकारको भएको पनि उनले बताए।