रोहित शर्माले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा बुधबार गरेका छन्। यससँगै भारतले टेस्टमा नयाँ कप्तान घोषणा गर्नुपर्नेछ।
इंग्ल्यान्डविरुद्धको पाँच टेस्टको सिरिज २० जुनदेखि इंग्ल्यान्डमा हुँदैछ। तीव्र गतिका बलर जसप्रीत बुमराह हाल भारतको उपकप्तान छन्।
यसअघि बुमराहले अस्ट्रेलियामा रोहित अनुपस्थित रहँदा पहिलो र अन्तिम टेस्टको नेतृत्व गरेका थिए।
रोहितले गत वर्ष भारतले टी–२० विश्वकप जितेपछि टी–२० क्रिकेटबाट पनि संन्यास लिएका थिए।
रोहितले गत वर्षको अन्त्यमा बंगलादेश र न्युजिल्यान्डविरुद्धको घरेलु सिरिजमा खराब प्रदर्शन गरेका थिए।
सन् २०२४ को डिसेम्बरदेखि २०२५ को जनवरीसम्मको अस्ट्रेलिया भ्रमणमा खराब प्रदर्शनपछि उनको आलोचना भएको थियो।
उनले पछिल्लो आठ टेस्ट खेलेर केवल एकपटक मात्र अर्धशतक प्रहार गर्न सकेका थिए। जसका कारण उनको आलोचना भएको थियो।
भारतले बंगलादेशविरुद्ध दुबै टेस्ट जितेको थियो। तर रोहितको कप्तानीमा न्युजिल्यान्डसँग ३-० ले हार व्यहोरेको थियो र अस्ट्रेलियासँगको बोर्डर-गावस्कर ट्रफी ३-१ ले गुमाएको थियो।