काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको दोस्रो संस्करणको जयकुमारनाथ शाह मेमोरियल इन्टर-स्कूल क्रिकेट प्रतियोगिताको उपाधिका लगि गेटवे एकेडेमी र डिएभी स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ।
आइतबार भएका सेमिफाइनलका खेल जित्दै गेटवे र डिएभीले फाइनलमा स्थान पक्का गरेका हुन्।
तल्लो मुलपानी मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा डिएभीले साविक विजेता सैनिस आवासीय महाविद्याललाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो।
पहिले ब्याटिङ गरेको सैनिकले २० ओभरमा ७ विकेटको क्षतिमा ९२ रन मात्र जोड्न सक्यो। उसका लागि गौरव कार्कीले ३० रन जोड्दा बलिङमा डिएभीका कमल शाहीले ३ विकेट लिए।
९३ रनको लक्ष्य डिएभीले १५.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। डिएभीको जितमा प्रसिद्ध जैशीले नटआउट ५३ रनको योगदान गरे।
अर्को सेमिफाइनलमा गेटवेले मोक्षदा स्कुलमाथि १३१ रनको जित निकाल्यो। पहिले ब्याटिङ गरेको गेटवेले सविर अन्सारीको नटआउट ११४ रन र अमित पटेलको नटआउट ६० रनको मद्दतमा २ विकेटको क्षतिमा २०४ रन बनायो। २०५ रनको लक्ष्य पछ्याएको मोक्षदा १२.१ ओभरमा ७३ रनमै अलआउट भयो।
अब उपाधिका लागि भोलि सोमबार विहान प्रतिस्पर्धा हुनेछ। २१ स्कुलले भाग लिएको यो प्रतियोगिताको आधारमा क्यानले यू-१६ टोली छनोट गर्नेछ।