लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आफूविरूद्ध प्रतिसोध साँधेको आरोप लगाएका छन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष गुरुङले अध्यक्ष चन्दले प्रतिसोधकै भरमा आफूमाथि प्रदेश संघमा अविश्वासको प्रस्ताव ल्याएको आरोप लगाएका हुन्।
अध्यक्ष चन्दका कारण ल्याइएको उक्त अविश्वासको प्रस्ताव अवैधानिक भएको पनि गुरुङको भनाइ छ।
यसअघि गत चैत २२ गते लुम्बिनी प्रदेशका उपाध्यक्ष विनयराज भण्डारीले क्यानका अध्यक्ष चन्दलाई सम्बोधन गर्दै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उनले प्रदेशका बहुसंख्यक सदस्य गुरुङको विपक्षमा भएको हस्ताक्षर पनि क्यान अध्यक्षसमक्ष पेस गरेका थिए।
त्यसको डेढ महिनापछि जेठ ३ गते प्रदेश संघको विशेष साधारभा आह्वान गरिएको छ। गुरुङले यो कदम अवैधानिक भएको भन्दै राष्ट्रिय खेलकुद परिषदमा उजुरी समेत दिएका छन्।
अध्यक्ष गुरुङले केन्द्रीय अध्यक्ष चन्दले प्रदेश कब्जा गर्ने रणनीतिस्वरुप प्रादेशिक क्रिकेट संघ विनियमावली ल्याएको समेत आरोप लगाए।
यसअघि क्यानले केन्द्रीय समितिको बैठकले विनियावलीको निर्माणका लागि समिति बनाएको थियो। उक्त समितिले विनियावली तयार गरेपछि चन्दले क्यानको 'ह्वाट्सएप च्याट बक्स'मार्फत् सो विनियावाली लागू भएको घोषणा गरेका थिए।
कतिपय केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्यले विनियावली जस्तो विषय गम्भीर भएको बताउँदै केन्द्रीय समितिमा छलफल गरेर पास गर्नु पर्ने तथा साधरणसभाबाट अनुमोदन गराएर लागू गर्नु पर्ने धारणा राख्दै अध्यक्ष चन्दको कदमको विरोध गरेका थिए।
यसरी हतारमा आफू अनुकुल विनियावली ल्याएर केन्द्रीय अध्यक्ष चन्दले अर्को चुनावअघि प्रदेशलाई कब्जा गर्ने रणनीतिअनुसार यस्तो कदम चालेको लुम्बिनी प्रदेशका अध्यक्ष गुरुङले आरोप लगाएका हुन्।
अविश्वासको प्रस्ताव दर्ता भएपछि अध्यक्ष चन्दले सचिवमार्फत् नभइ आफैले पत्र पठाएको पनि गुरुङले शंका गरेका छन्।
प्रदेश अध्यक्ष गुरुङलाई प्रदेशका सदस्यहरुले क्यानबाट प्राप्त बजेटको दुरूपयोग गरेको र प्रदेशभर क्रिकेटका ठोस गतिविधि सञ्चालन नगरेको आरोप लगाउँदै अविश्वासको प्रस्ताव ल्याएका हुन्।
जसमा क्यान अध्यक्ष चन्दले पनि गुरुङले रकम दुरूपयोग गरेको आरोप सार्वजनिक रूपमै लगाइसकेका छन्।