आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को खेलमा नेपाललाई युएईले ११५ रनको लक्ष्य दिएको छ।
थाइल्यान्डको बैंककमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा ११४ रन जोड्यो।
युएईका लागि कप्तान तथा ओपनर इशा वजाले ३९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३९ रन जोडिन्। उनलाई मनिषा उपाध्यायले १३औं ओभरमा क्याच आउट गराएकी थिइन्।
अर्की ओपनर तथा विकेटकिपर तीर्था सतिशले ३२ बलमा २१ बनाइन् भने लाभान्या केनीले १२ रनको योगदान दिइन्। यस्तै हीनाले २० रनको योगदान गरिन्।
बलिङमा नेपालकी मनिषा उपाध्यायले चार विकेट लिइन्। उनले चार ओभरमा २० रन खर्चिइन्। कविता कुँवरले अन्तिम ओभरमा दुई विकेट हात पारिन्। राजमति ऐरीको नाममा एक विकेट रह्यो।
यसअघि नेपालले समूह ‘सी’ को विजेता बनेको सुपर-३ मा पुगेको थियो। सुपर-३ मा समूह ‘ए’ को विजेता आयोजक थाइल्यान्ड र समूह ‘बी’ को विजेता युएई पुगेका थिए।
सुपर-३ मा पुगेका नेपाल, थाइल्यान्ड र युएईमध्ये दुई टोली विश्व छनोटमा पुग्नेछन्।
सुपर-३ मा तीन टोलीले एकआपसमा भिड्नेछन्। यस्तै यसअघि समूह चरणमा हात पारेको अंक पनि जोडिनेछ।
समूह चरणमा नेपालले ५ अंक जोड्दा थाइल्यान्ड र युएईले ६-६ बटुलेका थिए। त्यसैले नेपालका लागि शीर्ष दुईमा पर्न कम्तिमा एक जित निकाल्न पर्ने हुन्छ।
शीर्ष दुईमा पर्न सके नेपाल ग्लोबल छनोटमा पुग्नेछ। ग्लोबल छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।