आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक सिरिज सोमबारदेखि सुरू हुँदैछ।
स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ।
फोर्थहिल डुन्डीमा खेल नेपाली समयअनुसार अपराह्न ३:४५ बजेदेखि सुरू हुनेछ।
नेपालले सिरिजको दोस्रो खेल जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ। जुन ८ मा पुनः स्कटल्याण्डसँग र जुन १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ।
लिग-२ को अंक तालिकामा नेपाल सबैभन्दा पुछारमा अर्थात आठौं स्थानमा छ। नेपालले अहिलेसम्म खेलेका १२ मध्ये २ खेल मात्रै जितेको छ।
२० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर शीर्षस्थानमा छ। २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छ।
चौथो स्थानको स्कटल्याण्डले २० अंक जोडेको छ। समान अंकसहित क्यानडा पाँचौं स्थानमा छ। त्यसपछि नामिबिया, युएई र नेपाल छन्।
लिग-२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी-२० सिरिज पनि खेल्नेछ।
लिग-२ को खेल जेठ १९ देखि हुनेछ भने टी-२० सिरिज असार २ देखि सुरु हुनेछ।
नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), आसिफ सेख (विकेट किपर), कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी, रिजन ढकाल।