अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट तत्काल लागू हुने गरी संन्यासको घोषणा गरेका छन्।
३६ वर्षीय म्याक्सवेलले यसै वर्षको च्याम्पियन्स ट्रफीमा अस्ट्रेलिया सेमिफाइनलबाट बाहिरिएको केही महिनापछि एकदिवसीय संन्यास घोषणा गरेका हुन्। यसअघि दुई पटकका एकदिवसीय विश्वकप विजेता स्टिभन स्मिथले एकदिवसीय क्रिकेटबाट संन्यास लिएका थिए।
म्याक्सवेलले औपचारिक रूपमा टेस्ट क्रिकेटबाट संन्यास नलिए पनि अब रेड-बल क्रिकेट खेल्ने सम्भावना कम रहेको छ।
म्याक्सवेलले सोमबार 'फाइनल वर्ड पोडकास्ट' मा एक लामो अन्तर्वार्ताका क्रममा आफ्नो संन्यासको घोषणा गरेका थिए।
कसंन्यासको कारणबारे बताउँदै उनले सन् २०२२ मा खुट्टा भाँचिएपछि र भर्खरैको च्याम्पियन्स ट्रफीका खेलहरूमा शरीरले असहज महसुस गरेपछि एकदिवसीय क्रिकेटको शारीरिक बोझ धेरै भएको बताए।
म्याक्सवेलले अस्ट्रेलियाका प्रमुख चयनकर्ता जर्ज बेलीसँग पनि यसबारेमा कुरा गरेको बताएका छन्। उनले २०२७ को विश्वकपसम्म खेल्न नसक्ने लागेको र आफ्नो स्थानका लागि अरूले मौका पाउने र त्यसलाई आफ्नो बनाउने योजना सुरु गर्ने समय भएको बताए।
एकदिवसीय क्रिकेटमा म्याक्सवेलले १४९ खेलमा ३९९० रन (औसत ३३.८१) र ७७ विकेट (औसत ४७.३२) जस्ता सामान्य आँकडाहरूले मात्र उनको वास्तविक योगदान झल्काउँदैनन्। उनको स्ट्राइक-रेट (१२६.७०) आन्द्रे रसेलबाहेक २ हजारभन्दा बढी रन बनाउने खेलाडीहरूमध्ये सबैभन्दा उत्कृष्ट रहेको छ। फिनिशरको रूपमा ३३.८१ को औसत कायम राख्दै उनले चार वटा एकदिवसीय शतक प्रहार गरेका थिए।
सन् २०२३ को विश्वकपमा अफगानिस्तानविरुद्ध मुम्बईमा बनाएको अविजित २०१ रनको पारी उनको करियरको हाइलाइट हो। यो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियन खेलाडीले बनाएको पहिलो दोहोरो शतक, लक्ष्य पछ्याउँदै बनेको पहिलो दोहोरो शतक र ओपनर नभएका खेलाडीले बनाएको पहिलो दोहोरो शतक थियो। अस्ट्रेलिया २९२ रनको लक्ष्य पछ्याउँदै ९१ रनमा ७ विकेट गुमाएको अवस्थामा छैटौं नम्बरमा ब्याटिङ गर्न आएर उनले यो कीर्तिमान बनाएका थिए।
सोही प्रतियोगितामा उनले नेदरल्यान्ड्सविरुद्ध दिल्लीमा ४० बलमा सबैभन्दा छिटो एकदिवसीय विश्वकप शतक बनाए। साथै, सन् २०१५ को विश्वकपमा श्रीलङ्काविरुद्ध सिड्नीमा ५१ बलमा बनाएको शतक चौथो सबैभन्दा छिटो एकदिवसीय विश्वकप शतक हो।
म्याक्सवेललाई अस्ट्रेलियाका लागि उत्कृष्ट फिल्डरहरूमध्ये एकको रूपमा पनि सम्झिनेछ, जसले करियरभरि महत्त्वपूर्ण पोजिसनमा फिल्डिङ गरे।
हाल म्याक्सवेल आइपिएलको क्रममा लागेको औँलाको चोटबाट निको भइरहेका छन्। उनी दुई हप्ताभन्दा कम समयमा अमेरिकामा सुरु हुने मेजर लिग क्रिकेटका लागि फिट हुने अपेक्षा गरिएको छ र तीन टेस्ट शृङ्खलापछि जुलाई २० बाट सुरु हुने क्यारिबियनको पाँच खेलको टी२० आई शृङ्खलाका लागि अस्ट्रेलियाको टी२० आई टोलीको हिस्सा बन्ने सम्भावना छ।