आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डले नेपाललाई २९७ रनको लक्ष्य दिएको छ।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ७ विकेटको क्षतिमा २९६ रन जोड्यो।
स्कटल्यान्डका लागि ओपनिङ् ब्याटर चार्ली टियरले सबैभन्दा बढी ८० रन बनाए। करण केसीको बलमा आसिफ शेखबाट २६औं ओभरको पहिलो बलमा क्याच हुनुअघि उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि ओपनर जर्ज मुन्सी १२ रन र ब्रान्डन म्याकमलेन १९ रनमा आउट भएका थिए।
कप्तान रिची बेरिङटन ४० रन र विकेटकिपर ब्याटर म्याथ्यु क्रस ३९ रनमा आउट भएका थिए।
फिनले म्याकक्रेथले जोडेको अर्धशतक स्कटल्यान्डका लागि महत्वपूर्ण सावित भयो। अन्तिम ओभरमा सोमपाल कामीको बलमा क्याच हुनुअघि उनले ६७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ५५ रन बनाए। यस्तै माइकल लिस्कले १८ रन बनाए।
बलिङमा नेपालका रिजन ढकाल, सोमपाल कामी र करण केसीले २-२ विकेट लिन सफल भए। सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो।
नेपालको प्लेइङ-११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, रिजन ढकाल।
नेपालले सिरिजको दोस्रो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। जुन ८ मा पुनः स्कटल्यान्ड्ससँग र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्नेछ।
लिग-२ को अंक तालिकामा नेपाल सबैभन्दा पुछारमा अर्थात् आठौं स्थानमा छ। नेपालले अहिलेसम्म खेलेका १२ मध्ये २ खेल मात्रै जितेको छ। स्कटल्यान्डविरूद्धको पछिल्ला पाँचमध्ये नेपालले तीन खेलमा जित निकालेको छ। एक खेल स्कटल्यान्डले जित्दा एक खेलमा नजिता आएको छैन।
लिग-२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी-२० सिरिज पनि खेल्नेछ। टी-२० सिरिज असार २ देखि सुरु हुनेछ।
स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), आसिफ सेख (विकेट किपर), कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी, रिजन ढकाल।