नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोलीबीच ऐतिहासिक तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको घोषणा गरेको छ।
यो सिरिज क्यानले आयोजना गर्नेछ। सिरिज सेप्टेम्बर २७, २८, र ३०, २०२५ मा संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा खेलाइनेछ।
नेपाली टोलीले टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आइसिसी विश्वकप च्याम्पियन वेस्ट इन्डिजको पहिलो पटक सामना गर्नेछ।
क्यानले आफ्नो विज्ञप्तिमा वेस्ट इन्डिज क्रिकेटलाई उनीहरूको बलियो प्रतिबद्धताका लागि गहिरो कृतज्ञता व्यक्त गरेको छ।
यो सिरिजले उदाउँदा राष्ट्रहरूमा क्रिकेट विकासलाई सहयोग गर्ने र आइसिसी पुरुष टी-२० विश्वकप छनोटअघि नेपाली टोलीलाई अन्तर्राष्ट्रिय एक्सपोजर प्रदान गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, एमिरेट्स क्रिकेट बोर्डलाई पनि यो ऐतिहासिक सिरिजको सहजीकरणका लागि धन्यवाद दिइएको छ।
खेल तालिका:
पहिलो टी-२० – सेप्टेम्बर २७, २०२५
दोस्रो टी-२० – सेप्टेम्बर २८, २०२५
तेस्रो टी-२० – सेप्टेम्बर ३०, २०२५
नेपालले आइसिसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका लागि यसअघि नै तयारी थालेको थियो।यसअघि नेपालले गत चैतमा हङकङमा भएको चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो।
यस्तै हाल स्कटल्यान्डमा रहेको नेपालले असार पहिलो सातादेखि घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग टी-२० सिरिजमा प्रतिस्पर्धा गर्दैछ।
जुलाईमा नेपाली टोलीले टी-२० विश्वकप छनोटकै तयारीका लागि भनेर श्रीलंका भ्रमण गर्ने कार्यक्रम सार्वजनिक भएको थियो। वर्षातको समय छल्न नेपाली टोली श्रीलंकामा गएर तयारी गर्ने क्यानको भनाइ छ।
त्यसपछि नेपाली टोली अस्ट्रेलिया पुग्नेछ। अस्ट्रेलियामा अगस्टमा नेपालले पाकिस्तान र बंगलादेशको ए टोलीसहित बिग ब्यासका खेलाडी सम्मिलित टोलीसँग अभ्यास खेल खेल्नेछ।
सेप्टेम्बरमा नेपाली टोली विश्वकपको तयारी गर्नका लागि युएई जानेछ। युएईमा नेपालले टेस्ट वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने क्यानले भर्खरै घोषणा गरेको हो।
त्यसपछि नेपालले अक्टोबरमा ओमानमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ।
टी-२० विश्वकप २०२६ को एसिया र इस्ट एसिया प्यासिफिकको अन्तिम छनोट अक्टोबर १ देखि ओमानमा हुँदैछ। प्रतियोगितमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। भाग लिने टोलीमा नेपाल र ओमानसँगै जापान, कुवेत, मलेसिया, पपुवा न्युगिनी, कतार, सोमाओ र युएईले प्रतिस्पर्धा गर्दैछन्। नौमध्ये तीन टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।
टी-२० विश्वकप २०२६ मा १२ टोली भने सिधा छनोट भइसकेका छन्। जसमा आयोजक भारत र श्रीलंकासहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, अमेरिका र वेस्ट इन्डिज छन्। आयोजकबाहेक अरू टोली टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुगेका कारण छनोट भएका हुन्। वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छनोट भएका छन्।
बाँकी आठ टोली क्षेत्रीय छनोटबाट विश्वकपमा पुग्नेछन्। एसिया र इस्ट एसिया प्यासिफिबाट तीन टोली, युरोप र अफ्रिकाबाट दुई दुई टोली तथा अमेरिकन क्षेत्रबाट एक टोली विश्वकप २०२४ मा पुग्नेछन्।