घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज अन्तिम खेल हुँदैछ।
सिरिजमा नेपाल र घरेलु टोली स्कटल्यान्डबीच अन्तिम खेल हुन लागेको हो। खेल ग्लास्गोमा नेपाली समयअनुसार राति पौने आठ बजे सुरु हुनेछ।
सिरिजका यसअघिका तीन खेलमा नेपालले दुई जित निकालेको छ भने स्कटल्यान्ड एक खेलमा मात्र विजयी भएको छ। सिरिजमा नेदरल्यान्डले आफ्ना चारै खेल खेल्दा दुई खेलमा विजयी भएको छ।
अन्तिम खेलअघि नेपाल चार अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेदरल्यान्ड्सको पनि चार अंक नै छ। स्कटल्यान्ड दुई अंक जोडेर तेस्रो स्थानमा छ।
आजको खेलमा जित निकाल्न सके नेपालले सिरिज जित्नेछ। बिहीबार नेदरल्यान्डलाई पराजित गरेपछि नेपालका कप्तान रोहितकुमार पौडेलले स्कटल्यान्डविरूद्धको अन्तिम खेल जितेर सिरिज जित्ने लक्ष्य रहेको बताए।
पौडेलले स्कटल्यान्ड भ्रमण समग्रमा राम्रो भएको बताउँदै सुखद अन्त्य गर्न चाहेको बताए।
सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई हराएको थियो। नेदरल्यान्ड्सविरूद्धको पहिलो खेलमा तीन सुपर ओभर खेल्दा नेपलाले दोस्रो खेलमा भने जित निकालेको थियो।