सन् २०२६ मा भारत र श्रीलंकमा आयोजना हुने आइसिसी टी-२० विश्वकपका लागि अमेरिका क्षेत्रबाट क्यानडाले स्थान पक्का गरेको छ।
अमेरिका क्षेत्रीय छनोटको आयोजक क्यानडाले लगातार पाँच खेल जितेर विश्वकपमा स्थान पक्का गरेको हो। यो क्षेत्रबाट छनोटको एउटा कोटा भएकोमा क्यानडाले लगातार दोस्रो पटक टी-२० विश्वकपमा स्थान बनाएको हो।
सन् २०२६ को टी-२० विश्वकपमा एसिया र इस्ट एसिया प्यासिफिकबाट तीन टोली, युरोप र अफ्रिकाबाट दुई-दुई टोली तथा अमेरिकन क्षेत्रबाट एक टोली छनोट हुने प्रावधान छ।
अब एसिया, युरोप र अफ्रिकाको छनोट हुन बाँकी छ। अफ्रिका छनोट सेप्टेम्बरमा जिम्बावेमा, युरोप छनोट जुलाईमा नेदरल्यान्ड्स र एसिया छनोट अक्टोबरमा ओमानमा हुँदैछ।
नेपालले प्रतिस्पर्धा गर्ने एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नौ टोलीले भाग लिनेछन्। नौ टोलीबाट तीन टोलीले सन् २०२६ को टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।
प्रतियोगितामा नेपाल र ओमानसँगै जापान, कुवेत, मलेसिया, पपुवा न्युगिनी, कतार, सोमाओ र युएईले प्रतिस्पर्धा गर्दैछन्।
टी-२० विश्वकप २०२६ मा १२ टोली भने सिधा छनोट भइसकेका छन्। जसमा आयोजक भारत र श्रीलंकासहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, अमेरिका र वेस्ट इन्डिज छन्। आयोजकबाहेक अरू टोली टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुगेका कारण छनोट भएका हुन्। वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छनोट भएका छन्।
बाँकी आठ टोलीमा क्यानडाले स्थान पक्का गर्दा अब एसियाबाट तीन टोली तथा युरोप र अफ्रिकाबाट दुई दुई टोली गरी सात टोली छनोट हुन बाँकी छ।
नेपालले छनोटको तयारीका लागि यसअघि नै तयारी थालिसकेको छ। नेपालले गत वैशाखमा हङकङमा सिरिज खेलेको थियो। हालै स्कटल्यान्डमा टी-२० सिरिज खेलेको नेपालले जुलाईमा फेरि नेपाली टोलीले टी-२० विश्वकप छनोटकै तयारीका लागि भनेर श्रीलंका भ्रमण गर्ने कार्यक्रम छ।
त्यसपछि नेपाली टोली अस्ट्रेलिया पुग्नेछ। अस्ट्रेलियामा अगस्टमा नेपालले पाकिस्तान र बंगलादेशको ए टोलीसहित बिग ब्यासका खेलाडी सम्मिलित टोलीसँग अभ्यास खेल खेल्नेछ।
सेप्टेम्बरमा नेपाली टोली विश्वकपको तयारी गर्नका लागि युएई जानेछ। युएईमा नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्ने तालिका छ। त्यसपछि नेपाल छनोट खेल्न ओमान जानेछ।