इंग्ल्यान्डविरूद्ध बमिङघमको एजबेस्टनमा भएको दोस्रो टेस्टमा भारतले ३३६ रनको जित निकाल्यो।
जितसँगै भारतले पाँच खेलको सिरिजमा १-१ को बराबरी गर्न सफल भयो।
भारतीय कप्तान शुभमन गिलले टेस्टको पहिलो इनिङ्ग्समा २६९ रन र दोस्रो इनिङग्समा १६१ रन जोड्न सफल भए।
उनी खेलको प्लेयर अफ दि म्याच भए। भारतको जितमा आकाश दीपले दुवै इनिङग्समा गरी कुल १० विकेट लिन सफल भए।
भारतको जितसँगै खेलमा बनेका कीर्तिमान
- एजबेस्टनमा खेलिरहेको टेस्ट म्याचमा भारतको जित-हारको तथ्यांक १-७ रहेको छ। आइतबार यस मैदानमा पहिलो पटक इंग्ल्यान्डलाई हराएर भारतले यो मैदानमा इतिहास रच्यो। भारतले खेलेका पहिलो आठ खेलमध्ये सातमा हार बेहोरेको थियो भने एक खेल बराबरीमा सकिएको थियो।
- दोस्रो टेस्टमा जितसँगै भारतले इंग्ल्यान्डमा पहिलो टेस्ट हारेपछि तत्कालै सिरिज बराबरी गरेको यो पहिलो पटक हो। यसअघि इंग्ल्यान्डमा १३ वटा सिरिजमा खेल्दा भारतले पहिलो टेस्ट हारेको भारतले ६ वटा सिरिजको दोस्रो टेस्ट पनि हारेको थियो।यस्तै सातवटा सिरिजमा भने बराबरी खेलेको थियो।
- आकाश दीपको (पहिलो इनिङग्समा ४ र दोस्रो इनिङग्समा ६ गरी कुल १० विकेट) प्रदर्शन इंग्ल्यान्डमा भएको कुनै पनि टेस्टमा भारतीय खेलाडीको उत्कृष्ट बलिङ हो। यसअघि भारतका चेतन शर्माले सन् १९८६ मा एजबेस्टनमै १० विकेट लिएका थिए। उनी इंग्ल्यान्डमा यस्तो कीर्तिमान बनाउने एकमात्र अन्य भारतीय खेलाडी हुन्।
- तीव्र गतिका बलरद्वय आकाश दीप र मोहम्मद सिराजले लिएको कुल १७ विकेट कुनै पनि टेस्टमा भारतका ओपनिङ बलरहरूले लिएको संयुक्त रूपमा सर्वाधिक विकेट हो। यसअघि सन् २००५ मा हरारेमा जिम्बाब्वेविरुद्ध इरफान पठान र जहीर खान तथा सन् २०१९ मा इडन गार्डेन्समा बंगलादेशविरुद्ध इशान्त शर्मा र उमेश यादवले पनि कुल १७ विकेट लिएका थिए।
- खेलमा इंग्ल्यान्ड र भारतले बनाएको कुल १६९२ रन यी दुई टोलीबीचको कुनै पनि टेस्टमा बनेको सर्वाधिक रन हो। यसले हेडिङ्ग्लेमा भएको अघिल्लो टेस्टको १६७३ रनको कीर्तिमानलाई तोड्यो। साथै, यो नतिजा आएको (बराबरीमा नटुङ्गिएको) कुनै पनि टेस्ट म्याचको चौथो सर्वाधिक कुल रन पनि हो।
- पहिलो दुई टेस्टमा बनेको कुल ३३६५ रन कुनै पनि द्विपक्षीय टेस्ट सिरिजको पहिलो दुई खेलमा बनेको अहिलेसम्मकै सर्वाधिक रन हो। यसअघिको कीर्तिमान सन् १९२४-२५ को एशेजमा अस्ट्रेलिया र इंग्ल्यान्डले बनाएको ३२३० रन थियो।
- भारतले दुवै गरी कुल १८४९ रन बनायो। यो कुनै पनि सिरिजको पहिलो दुई टेस्टमा कुनै एक टोलीले बनाएको सर्वाधिक रन हो।
- दोस्रो टेस्टमा भारतले हासिल गरेको ३३६ रनको जित रनको हिसाबले घरेलु मैदान बाहिर उसको सबैभन्दा ठूलो जित हो। यसअघि भारतले सन् २०१९ मा नर्थ साउन्डमा वेस्ट इन्डिजलाई ३१८ रनले पराजित गरेको थियो।