जिम्बाब्वेविरूद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रिकाका कप्तान वियान मुल्डरले व्यक्तिगत उच्च स्कोरको कीर्तिमान नजिक पुगेर पनि इनिङग्स समाप्तीको घोषणा गरेका छन्।
जिम्बाब्वेको बुलावायोमा दक्षिण अफ्रिकाका कप्तान मल्डरले ५ विकेटको क्षतिमा ६२६ रन बनाएर खेलिरहदा इनिङग्स समाप्ती घोषणा गरेका हुन्। त्यतिबेला मुल्डर ३६७ रन बनाएर खेलिरहेका थिए। उनी टेस्ट क्रिकेटको एकै इनिङग्समा उच्च स्कोर बनाउने वेस्ट इन्डिजका ब्रायन लाराको कीर्तिमान नजिक थिए।
लाराले सन् २००४ मा इंग्ल्यान्डविरूद्ध नटआउट ४०० रन बनाएर सर्वाधिक व्यक्तिगत टेस्ट स्कोरको रेकर्ड बनाएका थिए। तर यो रेकर्ड तोड्नका लागि सोमबार मुल्डरले प्रयास गरेनन्।
मुल्डरले बनाएको ३६७ रन टेस्टमा पाँचौ उच्च स्कोर हो। उनले ३३४ बलमा ४९ चौका र ४ छक्का प्रहार गरे।
लाराको कीर्तिमान सुरक्षित रहे पनि मुल्डरले भने विभिन्न रेकर्ड बनाएका छन्। उनले हाशिम अमलाको ३११* (सन् २०१२ मा इंग्ल्याण्डविरुद्ध) लाई उछिनेर दक्षिण अफ्रिकाको तर्फबाट टेस्ट क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान बनाए।
मुल्डर टेस्ट क्रिकेटमा तेहेरो शतक बनाउने २९औं खेलाडी बने। हाशिम अमलापछि (२०१२ मा ३११*) दोस्रो दक्षिण अफ्रिकी खेलाडी बने।
उनी टेस्ट इतिहासमा ३५० रन पार गर्ने सातौं ब्याट्सम्यान बनायो। उनी टेस्ट कप्तानी डेब्यूमा तेहेरो बनाउने पहिलो खेलाडी बने।
उनको ३०० रन केवल २९७ बलमा बनेको थियो। यो टेस्ट इतिहासको दोस्रो सबैभन्दा छिटो तेहेरो शतक हो। यसअघि वीरेन्द्र सेहवागको २७८ बलको रेकर्ड बनाएका थिए।
पहिलो टेस्टमा कप्तानी गरेका केशव महाराज घाइते भएपछि कप्तानी सम्हालेका उनी टेस्टमा तेहेरो शतक बनाउने पहिलो कप्तान पनि बने।
मुल्डरले दक्षिण अफ्रिकाको सबैभन्दा छिटो २५० रन (२४३ बल) र एकै दिनमा सर्वाधिक रन (पहिलो दिन २६४) को रेकर्ड पनि बनाए।