अब भन्ने बेला आएको छ, "बेन्भेनुटी, इटालिया" (स्वागत छ, इटाली)।
आइसिसी पुरुष टी-२० विश्वकपमा छनोट भएपछि क्रिकेट जगतमा अहिले इटालीकै चर्चा छ। इटालीले अर्को वर्ष भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा स्थान बनाएर इतिहास रचेको छ।
इटालीका कप्तान जो बर्न्सले छनोट हुनुको अनुभवलाई 'सपनाजस्तै' भनेका छन्। अर्को वर्ष अझ ठूला स्तब्ध पार्ने नतिजा निकाल्नका लागि गृहकार्य सुरु भइसकेको उनको भनाइ छ।
‘मलाई यो टोलीप्रति साँच्चै गर्व छ,’ बर्न्सले आईसीसी डिजिटललाई भने, ‘छनोटका लागि धेरै योजना र तयारी गरिएको थियो। त्यसैले क्रिकेटको दृष्टिकोणबाट यो सन्तोषजनक छ । पक्कै पनि, हामी व्यक्तिगत रूपमा, टोलीको रूपमा र संघको रूपमा जहाँबाट यहाँसम्म आइपुगेका छौं, यो हामी सबैका लागि धेरै भावनात्मक कुरा हो।’
उनले अघि भने, ‘हामीले रोममा एक हप्ता र बेलायतमा एक हप्ता प्रशिक्षण शिविर गर्यौं, र मैले रोमको पहिलो दिन उनीहरूलाई भनेको थिएँ, 'मलाई मतलब छैन कि हामी पहिलो उप-क्षेत्रीय खेलमा लक्जेम्बर्गसँग खेल्दैछौं वा विश्वकप फाइनलमा भारतसँग। म केवल यो चाहन्छु कि हामी विश्व क्रिकेटमा सबैभन्दा बढी तयारी गरेको टोली बनौं,' किनकि त्यो यस्तो कुरा हो जसलाई हामी नियन्त्रण गर्न सक्छौं, जसमा कुनै सीप चाहिँदैन।’
युरोपेली छनोट फाइनलका क्रममा उपस्थित दर्शक र अनलाइन लाइभस्ट्रिम हेरिरहेकाहरूले उनीहरूको यो तयारीलाई व्यवहारमा देखे। उनीहरू कसैले सोचेजस्तो कमजोर टोली नभई, यस क्षेत्रको एक प्रभावशाली टोलीका रूपमा आफ्नो दबदबा कायम गरिरहेका थिए।
पहिलो खेल सजिलै जिते। जर्सीसँगको खेल वर्षाले रद्द भएपछि इटालियनहरूले तेस्रो खेलमा बलियो मानिएको स्कटल्याण्डविरुद्ध आक्रामक प्रदर्शन गरे। १६७ रनको स्कोरलाई उत्कृष्ट तरिकाले रक्षा गर्दै महत्वपूर्ण क्षणहरूमा जित निकालेर आफूलाई बलियो स्थितिमा उभ्याए।
बर्न्सले भनेझैं टोलीले पीचबारे राम्रो जानकारी हासिल गरिसकेको थियो र हरेक सम्भावित परिस्थितिको योजना बनाएको थियो, जसले गर्दा मैदानमा केही पनि नयाँ लागेन।
उनले भने, ‘केही महिना अघि, हामीले विकेट कस्तो हुन सक्छ भन्नेबारे केही जानकारी पाएका थियौं। हामीलाई हाम्रा खेलाडीहरूको शक्ति के हो भन्ने स्पष्ट थाहा थियो र हामी कसरी खेल्न चाहन्छौं र कुन प्रक्रिया अपनाउन चाहन्छौं भन्नेबारे पनि स्पष्ट थियौं।’
सबैको ध्यान खिच्दै र शीर्ष स्थानमा रहँदा बर्न्स र इटालियन टोलीले हिसाब गरिसकेका थिए कि अन्तिम दिन डच टोलीसँग सानो अन्तरको हारले पनि उनीहरूको विश्वकपको टिकट पक्का हुनेछ।
बर्न्स स्वीकार्छन् कि उनले टोलीको यात्रा सुनिश्चित गर्नका लागि क्षति न्यूनीकरणमा ध्यान केन्द्रित गर्नुपरेको थियो।
‘त्यो खेलभित्र सायद दुईवटा खेल थिए,’ उनले भने, ‘पक्कै पनि हामीले खेल जित्ने प्रयासबाट सुरु गर्यौं। तर योजनाअनुसार भएन। उनीहरूले पहिलो १० ओभरमा हामीलाई पछि पारे र त्यसपछि हामीले केवल एउटा यस्तो स्कोर बनाउनु थियो जसलाई हामीले १४.३ ओभरभित्र रक्षा गर्न सकौं। ब्याट्सम्यानहरूले साँच्चै राम्रो प्रदर्शन गरे। हामी १३३ रनमा पुग्यौं। र त्यसपछि पहिलो ६ ओभरमा हामीले नराम्रोसँग मार खायौं र सबै लय हाम्रो विपक्षमा थियो। स्पिनरहरू प्रभावकारी भइरहेकाले, पावरप्लेमा चाँडै स्पिनरहरूलाई ल्याउने लोभ थियो। तर मलाई थाहा थियो कि स्पिनरहरूले प्रतियोगितामा यति राम्रो बलिङ गरेका थिए कि पावरप्ले सकिएपछि र फिल्ड फैलिएपछि, हामीले नियन्त्रण फिर्ता लिन सक्नेछौं।र मलाई लाग्छ, जसरी क्रिशन र बेन मानेन्टी दुवै छेउबाट आए, उनीहरूले चार-चार ओभर स्पिन बलिङ गरे र खेलमा पुनरागमन गरे।’
बर्न्स अष्ट्रेलियाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी जसको नाममा चार टेस्ट शतक छन्। बर्न्स आफ्नो पारिवारिक विरासतका कारण इटालीबाट खेल्न योग्य भएका हुन्। उनले सन् २०२४ मा २०२६ को विश्वकप छनोट यात्रा सुरु गर्नुअघि नै आफ्नो लक्ष्य स्पष्ट पारेका थिए।
उनको ८५ नम्बरको जर्सी उनका दिवंगत भाइ डोमिनिकको सम्मानमा थिय र उनी इटालियन राष्ट्रिय टोलीको प्रगतिले देशसँग सम्बन्ध राख्ने जो कोहीलाई पनि प्रेरणा मिलोस् भन्ने चाहन्छन्।
‘सायद म अलि पाको भएकोले होला। तर जीवनमा उमेर बढ्दै जाँदा, तपाईं को हो, कहाँबाट आउनुभयो भन्नेबारे गहिरो समझ विकास हुन्छ। मेरा लागि यो परिवार र क्रिकेटलाई एक ठाउँमा ल्याउने अवसर थियो, र मलाई लाग्छ हाम्रो समूहमा सबैको यस्तै कथा छ। हामीले रोममा एउटा उत्कृष्ट सांस्कृतिक कार्यक्रम गर्यौं, जहाँ हामी को हौं, कहाँबाट आएका हौं, एकअर्काका परिवार र उनीहरूले गरेका त्यागहरू, यहाँसम्म कि उपमहाद्वीपबाट आएका खेलाडीहरूले इटालीमा बसाइँसराइ गर्न गरेका त्यागहरूबारे बुझ्यौं। यो हाम्रा हजुरबा-हजुरआमाले दोस्रो विश्वयुद्धपछि देश छोड्नुजस्तै थियो,’ उनले भने, ‘मलाई लाग्छ जीवनमा कुनै पनि कुरा अरूमा पार्न सक्ने प्रभावसँग सम्बन्धित छ र यो टोलीले १५ जनाको टोली वा मैदानमा रहेका ११ खेलाडीभन्दा धेरै मानिसहरूका लागि केही विशेष सिर्जना गर्ने अवसर पाएको थियो। हामी साँच्चै भावी पुस्ताका लागि त्यो विरासत सिर्जना गर्न चाहन्थ्यौं।’
पर्दा पछाडि इटालीको क्रिकेटको पाङ्ग्रा घुम्न थालेको छ।
ओलम्पिकमा क्रिकेट समावेश भएसँगै राष्ट्रिय ओलम्पिक समितिसँगको सहकार्यले आर्थिक सहयोग र टर्फ विकेटको योजनासहितका सुविधाहरूको ढोका खोलेको छ।
देशमा १०० भन्दा बढी क्लबहरू सञ्चालनमा छन् र घरेलु संरचना पनि गतिशील छ। जसमा राष्ट्रिय टोलीमा केही घरेलु खेलाडीहरू पनि छन्।
एकातिर तल्लो स्तरको क्रिकेट बढिरहेको छ भने, अर्कोतिर उच्च स्तरमा इटालियनहरूले खेलाडी योग्यतासम्बन्धी नियमहरूको फाइदा उठाउन पछि हटेका छैनन्। बर्न्ससँगै एमिलियो गे, थोमस ड्राका, ग्रान्ट स्टिवार्ट र मानेन्टी दाजुभाइ बेन र ह्यारी जस्ता खेलाडीहरूले टोलीलाई बलियो बनाएका छन्।
इटालियन टोलीले वेन म्याडसेनलाई पनि स्वागत गर्नेछ। यद्यपि उनीहरूको सबैभन्दा ठूलो शक्ति उनीहरूको कोचिङ समूह हो, जसमा दशकौंको एसोसिएट अन्तर्राष्ट्रिय अनुभव र व्यक्तिगत विश्वकप इतिहास छ।
पूर्व क्यानडाका अन्तर्राष्ट्रिय खेलाडी जोन डेभिडसन टोलीका मुख्य प्रशिक्षक हुन् भने पूर्व स्कटल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी डगी ब्राउन र आयरल्याण्डका केभिन ओ'ब्रायन सहायक प्रशिक्षकका रूपमा कार्यरत छन्।
अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएलगत्तै २०२२ मा टोलीमा सामेल भएका ओ'ब्रायन, छनोटसम्मको तीन वर्षको प्रगति वर्णन गर्न सबैभन्दा उपयुक्त व्यक्ति हुन्।
‘मैले खेलाडीहरूको एउटा समूहलाई देखेको छु जो एकअर्कासँग एकदमै घनिष्ठ समूहमा विकसित भएका छन्,’ ओ'ब्रायनले आइसिसी डिजिटललाई भने, ‘विश्वका विभिन्न भागबाट आएका खेलाडीहरूसँग यो गाह्रो हुन सक्छ, तर यो टोलीलाई जोड्ने साझा शक्ति इटालियन विरासत हो। मैले खेलाडीहरूमा सुधार देखेको छु, र त्यो केवल उनीहरूको क्रिकेट सीपमा मात्र होइन, अन्तर्राष्ट्रिय क्रिकेटमा सफल हुन आवश्यक पर्ने अन्य सबै कुराहरूमा पनि छ, जस्तै मनोवृत्ति, फिटनेस, जागरूकता, क्रिकेटको चलाखी, र कडा परिश्रम।’
ओ'ब्रायनले छनोटलाई फर्केर हेर्दा बर्न्सको खुलेर प्रशंसा गरे र उनको यात्रालाई आफ्नो आयरल्याण्डको यात्रासँग तुलना गरे। जब आयरल्यान्डले २००७ को क्रिकेट विश्वकपमा आफ्नो उपस्थिति जनाएका थियो, जहाँ उनीहरूले पाकिस्तानलाई हराएका थिए।
अब, कुनै पनि ढाँचामा आफ्नो पहिलो क्रिकेट विश्वकपको तयारीका लागि इटाली फेरि योजना बनाउनमा जुटेको छ।
र बर्न्स ड्र जस्तो भए पनि त्यसको सामना गर्न तयार छन्, तर उनी सबैभन्दा ठूलो चुनौती चाहन्छन्: २०२४ को च्याम्पियन भारत, जो घरेलु भूमिमा आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ।
‘तपाईं आफ्नो पहिलो विश्वकपमा आउनुहुन्छ र ठूलो मञ्च चाहनुहुन्छ। म भारतमा पहिलो खेल भारतसँग खेल्न चाहन्छु,’ उनले भने, ‘म अष्ट्रेलिया, इंग्ल्याण्ड वा सबै शीर्ष टोलीहरूसँग खेल्न चाहन्छु, तपाईंले खोज्ने अनुभव त्यही हो।"
-आइसिसीका लागि ड्यानियल बेसविकले लेखेको स्टोरीको भावानुवाद।