भारतीय टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रित बुमराहले बिहीबारबाट 'द ओभल' मैदानमा सुरु हुने एन्डरसन-तेन्दुलकर ट्रफीको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने भएका छन्।
इएसपीएनक्रिकइन्फोका अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को मेडिकल टिमले बुमराहको ढाडलाई जोगाउन र उनको लामो क्रिकेट करिअरलाई ध्यानमा राख्दै यो निर्णय लिएको हो।
भारतीय टिम व्यवस्थापन र छनोटकर्ताले यसअघि नै इंग्ल्यान्ड भ्रमणका पाँच टेस्टमध्ये तीनवटा मात्र खेल्ने तय गरेको थियो। बुमराहले पहिलो टेस्ट खेलेका थिए। यस्तै उनले दोस्रो टेस्टमा आराम गरेका थिए।
त्यसपछिका उनले टेस्ट लर्ड्स र ओल्ड ट्राफोर्डमा खेलेका थिए।
ओल्ड ट्राफोर्डमा भएको चौथो टेस्टमा सुस्त र फ्ल्याट पिचका साथै बढी ओभर बलिङ गरेका कारण मराहको गतिमा असर पारेको थियो। उनले ३३ ओभर बलिङ गरेर २ विकेट लिए, जुन उनको टेस्ट करियरको एकै इनिङ्समा सबैभन्दा बढी ओभर थियो, र पहिलो पटक उनले १०० भन्दा बढी रन दिए। सिरिज अघि बढ्दै जाँदा उनको १४० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा फ्याँकिएका बलको संख्या पनि घट्दै गएको थियो।
बुमराह हाल मोहम्मद सिराजसँगै १४ विकेट लिएर सिरिजमा संयुक्त रूपमा दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन्। म्यानचेस्टरमा खेल बराबरी भएपछि भारतीय मुख्य प्रशिक्षक गौतम गम्भीरले बुमराह अन्तिम टेस्टका लागि उपलब्ध रहेको बताएका थिए, तर त्यसको दुई दिनपछि भारतले उनलाई आराम दिने निर्णय गरेको छ।
आकाश दीपले बुमराहको स्थान लिने सम्भावना रहेको छ।