भारत र इंग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट सुरु हुनुभन्दा दुई दिनअघि भारतीय टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीर र सरे मैदान कर्मचारी (ग्राउन्ड्सम्यान) ली फोर्टिसबीच चर्काचर्की भएको छ।
गम्भीरले फोर्टिसतर्फ औंला हल्लाउँदै बारम्बार भनेका थिए, ‘तिमी एक सामान्य मैदान कर्मचारी मात्र हौ।‘
यसको जवाफमा फोर्टिसले पूर्व भारतीय ब्याट्सम्यानलाई चेतावनी दिँदै भने भनेक थिए, ‘अपशब्द' प्रयोग गरिरहे म्याच रेफ्रीलाई रिपोर्ट गर्नेछु।’
म्यानचेस्टरमा चौथो टेस्ट बराबरी गरेर सिरिज जीवितै राखेको भारतीय टोली लन्डन पुगेको थियो र मंगलबार अभ्यास सत्रमा सहभागी भएको थियो। खेलाडीहरू आउनुअघि नै प्रशिक्षक टोलीका सदस्यहरू मैदान पुगेका थिए, जसमा गम्भीर पनि थिए।
पत्रकारहरूले सोध्दा फोर्टिसले विवादबारे विस्तृत जानकारी दिन नमानेको इएसपिएनक्रिकइन्फोले उल्लेख गरेको छ। इएसपिएनक्रिकइन्फोका अनुसार भारतीय टोलीले अभ्यासका लागि मैदानको मुख्य भागको धेरैजसो ठाउँ प्रयोग गरेकोमा उनी खुसी थिएनन्। साथै,केही खेलाडी र प्रशिक्षकहरू खेल हुने पिचको एकदमै नजिक गएकोमा पनि उनी चिन्तित थिए।
भारतका सहायक प्रशिक्षक सितांशु कोटक फोर्टिससँग कुरा गरिरहेका थिए, त्यहीबेला गम्भीर बीचमा आए। फोर्टिसले गम्भीरलाई 'अपशब्द' प्रयोग नगर्न भन्दै गरेको सुनिएको थियो। उनले भने, ‘यदि तपाईंले यस्तै गरिरहनुभयो भने मैले म्याच रेफ्रीलाई रिपोर्ट गर्नुपर्ने हुन्छ।’ त्यसपछि गम्भीरले आफ्ना सहायक प्रशिक्षक कोटकलाई फोर्टिससँग ‘छलफलमा नलाग्न’ र उनलाई म्याच रेफ्रीकहाँ रिपोर्ट गर्न जान दिन भने।
जब फोर्टिसले गम्भीरलाई फेरि सचेत गराए, गम्भीरले यसो भनेको सुनियो, ‘तिमी चुप लाग। हामीले के गर्नुपर्छ भनेर तिमीले हामीलाई सिकाउनु पर्दैन। ठीक छ? तिमीले मेरो टोलीका कुनै पनि सदस्यलाई के गर्ने भनेर भन्न पाउँदैनौ। तिमीलाई हामीलाई भन्ने कुनै अधिकार छैन। तिमी एक सामान्य मैदान कर्मचारी हौ, आफ्नो औकातमा बस। तिमी एक मैदान कर्मचारी मात्र हौ, त्योभन्दा बढी केही होइनौ।’
फोर्टिसको मुख्य चिन्ता यो थियो कि ओभलमा यो सिजन सेप्टेम्बरको सुरुसम्म अझै धेरै क्रिकेट खेल्न बाँकी छ, त्यसैले उनले पिचहरूलाई सकेसम्म जोगाउनु आवश्यक थियो। जब उनले यो कुरा भारतीय टोलीलाई बताए भारतीय स्टाफले अभ्यासका लागि दिइएको तीनवटा पिचको वरपरको क्षेत्रबाट टाढा रहन गाह्रो हुने जवाफ दिए।