नेपाल क्रिकेट संघ (क्यान) को बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको आय र व्यय प्रस्तुत भएको छ। पहिलो संस्करण सकिएको ७ महिनापछि एनपिएलको हिसाब कार्य समितिमा प्रस्तुत भएको हो।
उक्त आय र व्यय एनपिएलको गभर्निङ काउन्सिलले प्रस्तुत गरेको थियो। यो हिसाबलाई अर्को कार्य समिति बैठकबाट अनुमोदन गर्ने प्रवक्ता छुम्बी लामाले बताए। आजको बैठकमा यो विषयमा गहन छलफल भएको उनले बताए।
यस्तै क्यान सचिव पारस खड्काले यो विषयमा गहन छलफल भएको र केही केन्द्रीय सदस्यले हिसाबको थप विवरण मागेकाले अर्को केन्द्रीय कार्यसमितिबाट आय-व्यय अनुमोदन हुने बताए।
साथै उनले एनपिएल हुनु पर्ने भन्ने विषयमा सबै केन्द्रीय सदस्य एक हुनु राम्रो पक्ष भएको बताउँदै फरक-फरक विचार आउनु स्वभाविक रुपमा लिनु पर्ने बताए।
यद्यपी केही केन्द्रीय सदस्यले भने यसको विरोध गरेका छन्। उनीहरुले सबै हिसाबको अध्ययन गर्न नपाएको भन्दै विरोध गरेका हुन्।
पहिलो संस्करणको एनपिलमा २७ करोड ६९ लाख ६४ हजर ८ सय १८ रुपैयाँ आम्दानी भएको क्यानको भनाइ छ। तर क्यानले कुन शीर्षकबाट कति आम्दानी भएको सार्वजनिक गरेको छैन।
यस्तै एनपिएलमा २० करोड १५ लाख ७३ हजार ५ सय ५९ रुपैयाँ खर्च भएको जनाएको छ। खर्च भएको शीर्षकहरुको विवरण पनि क्यानले खुलाएको छैन।
कर बाहेक पहिलो संस्करणमा ७ करोड ५३ लाख ९१ लाख नाफा भएको क्यानको भनाइ छ।
फ्रेन्चाइज टोलीलाई ३ करोड १६ लाख बाँडिएको छ । प्रदेश संघहरुलाई ७० लाख रुपैयाँ र क्यानलाई २ करोड ४६ लाख नाफा बाँडिएको हिसाबमा उल्लेख छ।
बिहीबारको केन्द्रीय कार्यसमितिका लागि १२ वटा एजेन्डा भए पनि मुख्य गरी एनपिएलको हिसाबमा छलफल भएको थियो।
