अस्ट्रेलियाको नर्दन टेरेटोरीमा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत नेपालले होबर्ट हरिकेन्स एकेडेमीलाई १८१ रनको लक्ष्य दिएको छ।
डार्बिनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १८० रन जोड्यो।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले २७ रन र आसिफ शेखले २९ रन बनाए। पावरप्लेको अन्तिम ओभरमा क्याच हुनुअघि भुर्तेलले २० बलमा ४ चौका प्रहार गरे। आसिफ २८ बल खेलेर २ चौका प्रहार गर्न सके।
भीम सार्कीले १८ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले ९ रन मात्र बटुल्न सके। कुशल मल्लले ८ बल खेल्दा ६ रन मात्र बनाए।
नेपालका लागि सर्वाधिक रन बनाएका आरिफ शेखले २६ बलमा ३ चौकाको मद्दतमा ३३ रन जोडे। करण केसी १ रनमा आउट हुँदा लोकेश बमले १० बलमा ३ चौका र १ छक्काको मद्दतमा नटआउट २५ रन बनाए।
बलिङमा होबर्टका निभेथन राधाकृष्णनन र राफ म्याकमिलनले २-२ विकेट लिए।
सिरिजमा नेपालले यसअघिका तीनै खेलमा पराजय भोगेको छ। नेपाल घरेलु टोली नर्दन टेरेटोरी, बंगलादेश ए र मेलवर्न स्टार्स एकेडेमीसँग पराजित भएको थियो।
सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन्।
अब नेपालले बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ।
यही वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा गएको हो।
यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्नेछ।
नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई वटा र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई वटा गरी कुल चार वटा टी-२० खेल खेल्नेछ। यस्तै ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ।
नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ।
एसिया एन्ड इस्ट एसिया प्यासेफिक छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन्।
नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम