भारत र पाकिस्तानबीच एसिया कप टी-२० प्रतियोगिताको बहुप्रतिक्षित खेलमा भारत आइतबर राति ७ विकेटले विजयी भयो।
तर पाकिस्तानी खेलाडी तयार हुँदा पनि भारतीय टोलीले हात नमिएपछि दुई छिमेकी देशबीचको तनाव मैदानमा पनि देखिएको छ।
भारतीय टी-२० कप्तान सूर्यकुमार यादवले आफ्नो क्रिकेट बोर्ड बिसिसिआई र भारत सरकारसँगको सल्लाहमा खेलअघि नै पाकिस्तानसँग हात नमिलाउने निर्णय गरेको बताएका छन्।
भारतीय टोलीले हात नमिलाएपछि पाकिस्तानी टोली निराश देखिएको इएसपिएन क्रिकइन्फोले उल्लेख गरेको छ।
पाकिस्तानका प्रशिक्षक माइक हेसनले खेलपछि हात मिलाउन तयार रहे पनि भारतीय खेलाडीले बेवास्ता गरेको बताए।
यसै कारण पाकिस्तानका कप्तान सलमान आगाले खेलपछिको टेलिभिजन अन्तर्वार्ता दिन अस्विकार गरेर भारतको कदमको विरोध गरेका छन्।
पाकिस्तानले यी घटनाहरूबारे म्याच रेफ्री एन्डी पाइक्रफ्टसमक्ष पनि आफ्नो असन्तुष्टि व्यक्त गरेको छ।
खेल सकिएको केही घण्टापछि पाकिस्तानी क्रिकेट बोर्ड पिसिबीले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानका टिम म्यानेजरले पाइक्रफ्टविरुद्ध ‘औपचारिक विरोध’ दर्ता गरेको जनकारी दिएको छ। पिसिबीका अनुसार पाइक्रफ्टले टसका बेला दुवै कप्तानलाई एकअर्कासँग हात नमिलाउन अनुरोध गरेका थिए।
भारतको पहाल्गाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच यो पहिलो क्रिकेट खेल थियो। यसअघि पनि यो खेल हुने/नहुनेबारे अनिश्चितता थियो र भारतले खेल बहिष्कार गर्नुपर्ने आवाज पनि उठेका थिए।
भारत सरकारले पाकिस्तानसँगको खेलकुद सम्बन्धबारे आफ्नो आधिकारिक नीति सार्वजनिक गरेपछि मात्र खेलबारे स्पष्ट भएको थियो। भारतले अरू देशले पनि खेल्ने प्रतियोगितामा पाकिस्तानसँग खेल्न सहमति दिएको थियो। तर एकअर्काबीच खेल्न अस्वीकार गरेको थियो।
‘सरकार र बिसिसिआई एकमत थियौं,’ सूर्यकुमारले खेलपछिको पत्रकार सम्मेलनमा भने, ‘बाँकी, हामीले [हात नमिलाउनेबारे] निर्णय गर्यौं। हामी यहाँ खेल खेल्न आएका थियौं। हामीले उचित जवाफ दिएका छौं।’
हात नमिलाउनुलाई खेल भावनाविपरीतको कुरा हो भनेर प्रश्न गर्दा सूर्यकुमारले भने, ‘जीवनमा केही कुरा खेल भावनाभन्दा माथि हुन्छन्। मैले पोस्ट म्याच प्रिजेन्टेसनमा पनि भनेको थिएँ, हामी पहाल्गाम आतंकवादी हमलाका सबै पीडितको साथमा छौं, उनीहरूका परिवारको साथमा छौं र हामी ऐक्यबद्धता व्यक्त गर्दछौं।’
पाकिस्तानी प्रशिक्षक हेसनले भारतको कदमप्रति ‘निराशा’ व्यक्त गरे।
‘हामी खेलको अन्त्यमा हात मिलाउन तयार थियौं, हाम्रो विपक्षीले त्यसो नगर्दा हामी स्पष्ट रूपमा निराश छौं,’ उनले भने, ‘हामी त्यहाँ हात मिलाउन गएका थियौं र उनीहरू पहिले नै चेन्जिङ रुममा गइसकेका थिए। खेल यसरी सकिनु निराशाजनक थियो।’
हेसनले आगाको पोस्ट म्याच प्रिजेन्टेनसम अनुपस्थिति भारतले हात नमिलाएको ‘परिणाम’ भएको बताए। पिसिबीको विज्ञप्तिले यसको पुष्टि गर्दै भारतको कदमलाई ‘खेलकुद भावनाविपरीत’ भनेको छ।
‘म्यानेजर नावेद अक्रम चीमाले म्याच रेफ्रीको व्यवहारविरुद्ध औपचारिक विरोध दर्ता गरेका छन्,' पीसीबीको विज्ञप्तिमा भनिएको छ, ‘म्याच रेफ्रीले कप्तानहरूलाई टसका बेला हात नमिलाउन अनुरोध गरेका थिए।'