नेदरल्यान्ड्सका तीव्र गतिका बलर भिभियन किंग्मालाई एन्टी-डोपिङ नियम उल्लंघन गरेको आरोपमा तीन महिनाको प्रतिबन्ध लगाइएको छ।
खेलका दौरान गरिएको परीक्षणमा उनले प्रतिबन्धित लागुऔषध प्रयोग गरेको पुष्टि भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले उनलाई यो कारबाही गरेको हो।
३० वर्षीय किंग्माले गत मे १२ मा यूट्रेच्टमा संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध भएको आइसिसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय खेलपछि गरिएको परीक्षणमा 'बेन्जोयलएक्गोनिन' नामक पदार्थका लागि सकारात्मक पाइएका थिए।
यो पदार्थ कोकिनको एक मेटाबोलाइट हो र आइसिसी एन्टी-डोपिङ कोड अन्तर्गत 'पदार्थको दुरुपयोग' को रूपमा वर्गीकृत गरिएको छ।
किंग्माले आफ्नो गल्ती स्वीकार गरेका छन् र यो पदार्थ प्रतियोगिता बाहिर प्रयोग गरिएको थियो भनेर प्रमाणित गर्न सफल भएका छन्।
यसको परिणामस्वरूप उनलाई १५ अगस्ट २०२५ देखि लागू हुने गरी तीन महिनाको लागि क्रिकेट खेल्न नपाउने प्रतिबन्ध लगाइएको छ। यदि किंग्माले स्वीकृत उपचार कार्यक्रम सफलतापूर्वक पूरा गरेको प्रमाणित गर्न सकेमा उनको यो प्रतिबन्धको अवधि घटाएर एक महिनासम्म गर्न सकिनेछ।
आइसिसी एन्टी-डोपिङ कोड बमोजिम मे १२ मा युएईविरुद्धको एकदिवसीय खेल र त्यसपछिका सबै खेलहरूमा किंग्माका व्यक्तिगत रेकर्डहरू अमान्य घोषित गरिएका छन्।