प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सूदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीले उत्कृष्ट प्रदर्शन गरेका छन्।
धामीले ह्याट्रिकसहित सात विकेट लिएपछि सुदुरपश्चिमले २१० रनको लक्ष्य पछ्याएको बागमती प्रदेशलाई ११.२ ओभरमा अलआउट गरेर १६३ रनको ठूलो अन्तरको जित निकालेको छ।
जनकपुरमा हात पारेको यो जित सुदूरपश्चिमको पाँचौ जित हो। यो जितले उसलाई अंक तालिकाको शीर्ष स्थानमा पुर्याएको छ।
बागमती भने ६ खेलमा दुई जितसहित आठौं स्थानमा छ।
हेमन्तले खेलको तेस्रो ओभरमै ह्याट्रिक लिएका थिए। उनले सो ओभरको चौथो बलमा आशुतोष घिरैयालाई शून्यमा क्याच, पवन थापालाई शून्यमा एलबिडब्लू र इशान पाण्डेलाई क्याच गराएर ह्याट्रिक लिए।
उनले एघारौं ओभरमा पनि तीन विकेट लिए। उनले रिजन ढकाललाई पहिलो बलमा बोल्ड गर्दा तेस्रो र चौथो बलमा प्रतिश जिसी र सन्दीप लामिछानेलाई बोल्ड गरे।
हेमन्तले सात विकेट लिँदा २ मेडन राखे भने केवल १४ रन दिए।
बागमतीका लागि शुभ कंसाकारले ३२ रन बनाउँदा अरु १० ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। जसमा पाँच ब्याटरले त खाता नै खोल्न सकेनन्।
त्यसअघि सुदूरपश्चिमले नारायण जोशीको ७५ रन र दिपक बोहराको ४० रनको मद्दतमा २०९ रन बनायो। बलिङमा बागमतीका प्रतिश जिसी र सन्दीप लामिछानेले ४-४ विकेट लिए।