आइपिएल २०२६ मा पञ्जाव किंग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ।
मुम्बईले दिएको १९६ रनको लक्ष्य पञ्जावले मात्र १६.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। यो मुम्बईको लगातार चौथो हार हो भने पञ्जावको पाँच खेलमा चौथो जित हो।
मुम्बईका नियमित कप्तान रोहित शर्मा घाइते भएपछि टोलीमा मौका पाएका क्विन्टन डि ककले सानदार प्रदर्शन गरे। उनले ६० बलमा ११२ रनको शतकीय इनिङ खेले। यससँगै उनी आइपिएलमा तीन फरक टोलीका लागि शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्। उनीसँगै नमन धिरले ३१ बलमा ५० रन बनाए पनि मुम्बईका अन्य ब्याटर चल्न सकेनन् र टोलीले २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनायो।
पञ्जावका तीव्र गतिका बलर अर्शदीप सिंहले मुम्बईलाई सुरुवातमै झट्का दिए। उनले २२ रन दिएर ३ विकेट लिए। उनले खतरनाक सूर्यकुमार यादवलाई पहिलो बलमै (गोल्डेन डक) आउट गरे। यसै खेलमार्फत अर्शदीपले आइपिएलमा आफ्नो १०० विकेट पनि पूरा गरेका छन्। अन्तिम ओभरहरूमा पनि उनले सटिक योर्कर फाल्दै मुम्बईलाई ठूलो स्कोर बनाउनबाट रोके।
१९६ रनको लक्ष्य पछ्याएको पञ्जावको सुरुवात राम्रो रह्यो। युवा ब्याटर प्रभसिमरन सिंहले विस्फोटक ब्याटिङ गर्दै मात्र ३९ बलमा अविजित ८० रन बनाए। उनलाई श्रेयस अय्यरले परिपक्व साथ दिए। अय्यरले ३५ बलमा ६६ रनको महत्वपूर्ण इनिङ खेले। मुम्बईका बलरहरू यी दुई ब्याटरसामु निरिह देखिए। विशेषगरी जसप्रित बुमराहले ४ ओभरमा ४१ रन खर्चिए तर कुनै विकेट लिन सकेनन्।
श्रेयस अय्यरले बाउन्ड्री लाइनमा हार्दिक पाण्ड्यालाई आउट गर्न एउटा पत्याउनै नसकिने 'रिले क्याच' लिए, जसको अहिले सर्वत्र चर्चा भइरहेको छ।
मुम्बईका मुख्य बलर बुमराह लगातार छैटौँ खेलमा विकेटविहीन रहे।
यो सिजन उत्कृष्ट लयमा रहेका प्रभसिमरनले ५ खेलमा २११ रन पुर्याएका छन्।
मुम्बईले सोचेभन्दा २० रन कम बनाएको र पञ्जावका ब्याटरहरूले उत्कृष्ट प्रदर्शन गरेका कारण डि ककको शतक छायामा पर्यो। पञ्जाव यो जितसँगै अपराजित रहँदै अगाडि बढेको छ।