आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र ओमानविरूद्ध सिरिजका लागि नेपालले राष्ट्रिय टोली घोषणा गरेको छ।
रोहितकुमार पौडेलको कप्तानी रहेको टोलीमा युवा ब्याटर अर्जुन कुमालले पहिलो पटक स्थान बनाएका छन्। प्रधानमन्त्री कपमा उत्कृष्ट ब्याटिङ गरेपछि अर्जुनका लागि राष्ट्रिय टोलीमा ढोका खुलेको हो।
यस्तै टोलीमा विनोद भण्डारीले पनि स्थान बनाएका छन्। जारी प्रधानमन्त्री कपमा उत्कृष्ट ब्याटिङ गरेका भण्डारी तीन वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन्।
नेपालको क्रिकेट टोलीममा कप्तान रोहित पौडेल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी गरी मुख्य १५ जना खेलाडी छनोट भएका छन् भने रिजर्भमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशन पाण्डे र देव खनाल रहेका छन्।
नेपाल र युएईबीच वैशाख ६ र ७ गते दुई खेलको टी-२० सिरिज हुँदैछ।
त्यसपछि नेपालले लिग-२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज नेपालले आयोजना गर्दैछ। नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो।
त्रिवि मैदानमा नेपाल, ओमान र युएईबीच वैशाख १२ देखि २२ सम्म पहिलो सिरिज हुनेछ। त्यसपछि वैशाख २९ देखि जेठ ८ सम्म नेपाल, स्कटल्यान्ड र अमेरिका अर्को सिरिजमा भिड्नेछन्।
लिग-२ को अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका अमेरिका (पहिलो) र स्कटल्याण्ड (दोस्रो) सँग प्रतिस्पर्धा गर्नु पर्ने भएको हुँदा नेपालले घरेलु मैदानको फाइदा उठाउन सक्नेछ।
घरेलु मैदानमा हुने यो सिरिज नेपालका लागि विश्वकप छनोटको दौडमा निकै महत्त्वपूर्ण हुनेछ। यहाँको प्रदर्शन खराब भएमा छनोट प्रक्रिया थप जटिल बन्नेछ।
अंक तालिकाको सातौ स्थानमा रहेको नेपालको २० खेलमा १२ अंक छ। (५ जित, १३ हार, २ नतिजाविहीन)