त्रिभुवन आर्मी क्लबले सिजनको प्रधामन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
शुक्रबार वीरगञ्जमा भएको उपाधि भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै आर्मी सिजनको च्याम्पियन बनेको हो।
आर्मीले सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य ५ विकेटको क्षतिमा ३४.३ ओभरमा पूरा गर्यो।
आर्मीका लागि इमरान शेखले नटआउट ४६ रन र बसिर अहमदले ४५ रन बनाए। त्यसअघि कप्तान विनोद भण्डारी २ रन, भीम सार्की ४ रन र कुशल मल्ल १७ रनमा आउट भएका थिए। त्रृतराज दास पनि ३१ रनमा आउट भएपछि बसिर र इमरानले पाँचौ विकेटका लागि ९६ रनको साझेदारी गरेपछि आर्मीको जित सम्भव भयो।
बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले खराब ब्याटिङ गरेको थियो। उसले ३९.४ ओभरमा अलआउट हुँदा १६१ रन जोडेको थियो। कुनै समय खराब अवस्थामा रहेको सुदूरपश्चिमका लागि आठौं नम्बरमा ब्याटिङ गरेका अशोक धामीले ४३ रन बनाएका थिए। ७ विकेट जाँदा ९८ रन जोडेको सुदूरका लागि किरण ठगुन्नाले जोडेको ३५ रन र नारायण जोशीले बनाएको २९ रन महत्वपूर्ण बन्यो।
अन्त्यतमा हेमन्त धामीले १६ रन बनाएको सुदूरपश्चिमका ७ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। जसमा सुरुवाती ६ ब्याटर थिए।
बलिङमा आर्मीका आकाश चन्द र शाहब अलामले ३-३ विकेट लिए भने बसिर अहमदको नाममा २ विकेट रह्यो।