नेपाल क्रिकेट संघ (क्यान) ले युएईविरूद्धको टी-२० सिरिजअघि दुई जनालाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ।
मुख्य प्रशिक्षक स्टुअर्ट लको सहायक रहने गरी बसन्त शाही ठकुरी र कलाम अलीलाई नियुक्त गरिएको हो।
बसन्त यसअघि मोन्टी देसाइ नेपालको प्रशिक्षक रहदा सहायकको भूमिकामा थिए।
लले भने यसअघि ज्ञानेन्द्र मल्ललाई सहायक प्रशिक्षक जिम्मेवारी दिएका थिए। तर ज्ञानेन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा बसेर राजनीतिमा होमिँदै प्रशिक्षकको भूमिका छाडेका थिए। यद्यपी उनी सूचीबाट संसाद भने चयन हुन सकेनन्।
नेपालले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सोमबार र मंगलबार युएईविरूद्ध टी-२० सिरिज खेल्दैछ। त्रिवि मैदानमा हुने सिरिजका दुवै खेल साँझ पाँच बजेपछि हुनेछ। नेपालले पहिलो पटक रातमा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न लागेको हो।
त्यसपछि नेपालले लिग-२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज नेपालले आयोजना गर्दैछ। नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो।