१५५ रनको लक्ष्य रक्षा गर्ने क्रममा रियान पराग र राजस्थान रोयल्ससँग गल्ती गर्ने कुनै ठाउँ थिएन। खेल अन्तिम ओभरसम्म पुग्यो, जहाँ रिङ्कु सिंहले छक्का प्रहार गर्दै कोलकाता नाइट राइडर्सलाई सिजनको पहिलो जित दिलाए।
खेलपछिको परागलाई बलिङ परिवर्तनबारे सोधिएको थियो। विशेष गरी, अनुभवी नान्द्रे बर्गरको विकल्प हुँदाहुँदै उनले किन १८औँ र २०औँ ओभरमा अनक्याप्ड (नयाँ) तिब्र गतिका बलर ब्रिजेश शर्मालाई बलिङ गराए भन्ने प्रश्न गरिएको थियो।
ब्रिजेशको बारेमा बोल्दै परागले भने, ‘मैले उनलाई १४औँ र १६औँ ओभरमै बलिङ गराउने सोचेको थिएँ। तर कोलकाताले विकेट गुमायो र क्रिजमा देब्रेहाते ब्याट्सम्यानहरू आए, त्यसैले मैले आफैँ (अफस्पिन) बलिङ गरेँ। हाम्रा स्पिनरहरूले राम्रो गरिरहेका थिए, त्यसैले मलाई स्पिनरहरूले नै विकेट दिलाउनेछन् भन्ने विश्वास थियो। हामी विकेटको निकै नजिक पनि पुगेका थियौँ।’
परागले रिङ्कु सिंह ८ रनमा हुँदा रविन्द्र जडेजाको बलमा दिएको क्याचको मौकालाई संकेत गरिरहेका थिए, जुन नान्द्रे बर्गरले छोडेका थिए। त्यतिबेला कोलकाता ७३ रनमा ५ विकेट गुमाएको अवस्थामा थियो र रवि बिश्नोई तथा डेब्यु गरिरहेका यश राज पुञ्जाले विपक्षीलाई रन बनाउन कठिन बनाइरहेका थिए।
‘पिचबाट स्पिनरहरूले राम्रो मद्दत पाइरहेका थिए। जडेजा, बिश्नोई र पुञ्जाले जसरी बलिङ गरे, मलाई लाग्यो कि त्यतिबेला स्पिनकै आवश्यकता थियो। निर्णय सफल हुँदा राम्रो देखिन्छ। आज पनि निर्णय सही नै थियो जस्तो लाग्छ, तर केही साना गल्तीहरूले गर्दा हामीले २ अंक गुमाउनुपर्यो,’ परागले थपे।
परागले अन्तिममा स्पिन बलिङ हटाउनुको कारण चाहिँ, बाँकी रहेका स्पिनरहरू जडेजा र पुञ्जाको बल देब्रेहाते ब्याट्सम्यानहरू (रिङ्कु र अनुकुल रोय) का लागि सजिलो हुन सक्थ्यो। त्यसैले बिश्नोईको ओभर सकिएपछि उनले १८औँ र २०औँ ओभर ब्रिजेशलाई दिने निर्णय गरे।
राजस्थानले खेललाई अन्तिम ओभरसम्म पुर्याए पनि जित निकाल्न सकेन। ६ खेलमा ४ जित निकालेको राजस्थानले अब अप्रिल २२ मा लखनऊमा 'सुपर जायन्ट्स' विरुद्ध खेल्नेछ।