जिम्बावेका तीव्र गतिका बलर ब्लेसिङ मुजाराबानीलाई पाकिस्तान सुपर लिगले दुई वर्षको प्रतिबन्ध लगाएपछि उनका एजेन्ट रब हम्फ्रिजले कडा आपत्ति जनाएका छन्। उनले यस प्रतिबन्धलाई ‘अत्यधिक र अन्यायपूर्ण’ भनेका छन्।
एजेन्टका अनुसार मुजाराबानी र पीएसएलबीच कुनै पनि कानुनी रूपमा बाध्यकारी सम्झौता भइसकेको थिएन। तर पीएसएलले भने मौखिक र इमेलमार्फत सहमति भइसकेकाले मुजाराबानीले नियम मिचेको आरोप लगाएको छ।
फेब्रुअरी १३ मा इस्लामावाद युनाइटेडले मुजाराबानीलाई खेल्न प्रस्ताव गरेको थियो। मुजाराबानीले जिम्बावे क्रिकेट बोर्डबाट एनओसी पाएको खण्डमा खेल्न तयार रहेको बताएका थिए। नियमअनुसार, आधिकारिक सम्झौता पत्र बिना एनओसी पाइँदैन।
एजेन्टका अनुसार फेब्रुअरी २७ सम्म (दुई हप्ता बित्दा पनि) पीएसएलबाट कुनै आधिकारिक सम्झौता पत्र आएन।
त्यही बीचमा इन्डियन प्रिमियर लिगको कोलकाता नाइट राइडर्सले उनलाई प्रस्ताव गर्यो। पीएसएलले उनलाई करिब ४० हजार डलर (करिब ५३ लाख नेपाली रुपैयाँ) प्रस्ताव गरेको थियो भने आईपीएलले करिब १ लाख ६० हजार डलर (करिब २ करोड १० लाख नेपाली रुपैयाँ) को ठूलो अफर दियो। मुजाराबानीले आईपीएल रोजे।
एजेन्ट हम्फ्रिज भन्छन्, "जुन सम्झौता पत्र हामीले कहिल्यै प्राप्त नै गरेनौं, त्यसलाई कसरी उल्लंघन गरेको भन्न मिल्छ? यो पीएसएलको प्रशासनिक कमजोरी हो। विगतमा सम्झौता तोड्ने अन्य खेलाडीलाई भन्दा मुजाराबानीलाई दिइएको सजाय धेरै बढी छ। हामी पीएसएललाई यो प्रतिबन्ध फिर्ता लिन आग्रह गर्छौं।"
पीसीबीले भने प्रतिबन्ध घटाउन अस्वीकार गरेको छ। उनीहरूको भनाइ छ कि जब पैसा र अन्य सर्तहरूमा लिखित पत्राचार (इमेल) मार्फत सहमति हुन्छ, तब त्यो सम्झौता सरह नै मानिन्छ। मुजाराबानीले लोभमा परेर आफ्नो प्रतिबद्धता तोडेको पीसीबीको आरोप छ।
यो प्रतिबन्धका कारण मुजाराबानीले सन् २०२९ सम्म पीएसएल खेल्न पाउने छैनन्। यसअघि दक्षिण अफ्रिकाका बलर कोर्बिन बोसलाई यस्तै गल्तीमा एक वर्षको प्रतिबन्ध लगाइएको थियो। मुजाराबानीले माफी नमागेको र सहयोग नगरेको भन्दै उनलाई कडा सजाय दिइएको बुझिएको छ।
यस्तै प्रकृतिको अर्को घटनामा श्रीलङ्काका कप्तान दासुन शनाकाको विषयमा पनि पीएसएलले छानबिन गरिरहेको छ। शनाकाले पनि पीएसएल छोडेर आईपीएल रोजेका थिए।