सोमबार साँझ पाँच बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो पटक फ्लड लाइटमा अन्तर्राष्ट्रिय क्रिकेट खेल हुँदैछ।
गत मंसिरमा फ्लड लाइट जडान भएपछि नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका खेल राति भएका थिए। घरेलु क्रिकेटका खेलपछि त्रिविले पहिलो पटक साँझमा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न लागेको हो।
जुन खेलमा नेपाल र युएईबीचको दुई टी-२० खेल हुनेछन्। सोमबार पहिलो खेल हुँदा मंगलबार दोस्रो खेल हुनेछन्। दुवै खेल साँझ पाँच बजे सुरु हुनेछन्।
खेलमा नेपालका तीव्र गतिका बलर हेमन्त धामीले डेब्यू गर्दैछन्। प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक विकेट लिएका धामीले प्लेइङ ११ मा स्थान बनाएका हुन्। उनी नेपालको यू-१९ टोलीका कप्तानको भूमिकामा थिए।
नेपाली टिम
कुशल भुर्तेल, अर्जुन साउद (विकेटकिपर), सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी (कप्तान), बसिर अहमद, गुल्सन झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने, हेमन्त धामी।
नेपाल र युएईबीच २०२५ को अक्टोबरपछि पहिलो टी-२० खेल हुन लागेको हो। टी-२० विश्वकप छनोटअन्तर्गत ओमानमा भएको खेलमा नेपालले १ रनको जित निकालेको थियो।
सन् २०२३ देखि भएका पाँचमध्ये नेपालले तीन खेल जित्दा युएई २ खेलमा विजयी भएको छ।
युएईविरूद्धको टी-२० सिरिजमा नेपाली टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन्। टोलीमा कुशल मल्लले पुनरागमन गरेका छन् भने सन्तोष यादवले पहिलो पटक स्थान बनाएका छन्।
नेपालले आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को सिरिजअघि त्रिवि मैदानमा युएईसँग टी-२० सिरिज खेल्न लागेको हो।
त्यसपछि नेपालले लिग-२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज नेपालले आयोजना गर्दैछ। नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो।