नेपाल विरूद्धको टी-२० सिरिज सुरू हुनुअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईको राष्ट्रिय गान गलत बजाइएको छ।
खेलअघि नेपालको राष्ट्रिय गान बजेपछि युएईको राष्ट्रिय गानका लागि खेलाडीहरू तयार थिए।
तर पहिलो पटक अर्कै गीत बजाएपछि कप्तान मोहमद वासीम सही नभएको भन्दै नजिक रहेका नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहलाई बताएका थिए। त्यसपछि एक मिनेट लगाएर अर्कै राष्ट्रिय गान बजाइएको थियो। सो गीत पनि गलत भएपछि वासीमले असन्तुष्टि जनाए।
खेलको कमेन्टेटर एन्ड्रिय लियोनर्डले गलत राष्ट्रिय गान भन्दै माफी मागेका थिए। त्यसपछि युएईको राष्ट्रिय गान बिना नै खेल सुरू गरिएको छ।
टस जितेर ब्याटिङ गरेको नेपालका लागि तीव्र गतिका बलर हेमन्त धामीले डेब्यू गर्दैछन्। प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक विकेट लिएका धामीले प्लेइङ ११ मा स्थान बनाएका हुन्।
नेपाली टिम
कुशल भुर्तेल, अर्जुन साउद (विकेटकिपर), सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी (कप्तान), बसिर अहमद, गुल्सन झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने, हेमन्त धामी।
नेपाल र युएईबीच २०२५ को अक्टोबरपछि पहिलो टी-२० खेल हुन लागेको हो। टी-२० विश्वकप छनोटअन्तर्गत ओमानमा भएको खेलमा नेपालले १ रनको जित निकालेको थियो।
सन् २०२३ देखि भएका पाँचमध्ये नेपालले तीन खेल जित्दा युएई २ खेलमा विजयी भएको छ।
युएईविरूद्धको टी-२० सिरिजमा नेपाली टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन्। टोलीमा कुशल मल्लले पुनरागमन गरेका छन् भने सन्तोष यादवले पहिलो पटक स्थान बनाएका छन्।
नेपालले आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को सिरिजअघि त्रिवि मैदानमा युएईसँग टी-२० सिरिज खेल्न लागेको हो।
त्यसपछि नेपालले लिग-२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज नेपालले आयोजना गर्दैछ।
नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो।