नेपाल र युएईबीचको पहिलो टी-२० खेल वर्षा कारण अवरूद्ध भएपछि डिएलएस मेथडको आधारमा युएईलाई ७८ रनको लक्ष्य दिइएको छ। यो लक्ष्य १० ओभरमा पूरा गर्नु पर्नेछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेटको क्षतिमा १२२ रन बनाएर खेलिरहदा वर्षाले खेल रोकिएको थियो। जसका कारण खेल १० ओभरमा झारिएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब ब्याटिङ गर्यो। तेस्रो ओभरमा अर्जुन साउदञ १३ रनमा बोल्ड भए। जुनइद सिद्धिकीबाट बोल्ड हुनुअघि उनले ११ बलमा ३ चौका प्रहार गरे।
दुई ओभरपछि सन्दीप जोरा पनि ६ रन बनाएर पेभिलियन फर्किए। पावरप्लेमा तेस्रो विकेट गुमाउने क्रममा कुशल भुर्तेल छैटौं ओभरमा रनआउटको सिकार बने। उनले ९ बलमा १ चौका र १ छक्काको मद्दतमा १६ रन बनाए।
कुशल मल्लले २१ बलमा १ चौकाको मद्दतमा १७ रन बनाउन सके। उनी ११औं ओभरमा जुबइरको एलबिडब्लूको धरापमा परे।
त्यसपछि बसिर अहमद ११ बलमा १४ रन जोडेर आउट भएका थिए। गुल्सन झाले १ रन मात्र जोड्न सके। त्यतिबेला नेपालले १६ ओभर चल्दै गर्दा छैटौं विकेट गुमाएको थियो।
सुस्त ब्याटिङ भइरहेको बेलमा नन्दन यादवले ७ बलमा २ छक्का प्रहार गरेर १३ रन जोडेका थिए। उनी १७औं ओभरमा दुई छक्का प्रहार गरे लगत्तै क्याच भए। अर्को ओभरमा शेर मल्ल शून्यमा आउट भएका थिए। खेलमा कप्तान दीपेन्द्रसिंह ऐरी ३२ रन र सन्दीप लामिछाने २ रन बनाएर खेलिरहेका थिए।
बलिङमा युएईका जुहइबले ३ विकेट लिएका थिए।
नेपाली टिम
कुशल भुर्तेल, अर्जुन साउद (विकेटकिपर), सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी (कप्तान), बसिर अहमद, गुल्सन झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने, हेमन्त धामी।
नेपाल र युएईबीच २०२५ को अक्टोबरपछि पहिलो टी-२० खेल भएको हो। टी-२० विश्वकप छनोटअन्तर्गत ओमानमा भएको खेलमा नेपालले १ रनको जित निकालेको थियो।
सन् २०२३ देखि भएका पाँचमध्ये नेपालले तीन खेल जित्दा युएई २ खेलमा विजयी भएको छ।
युएईविरूद्धको टी-२० सिरिजमा नेपाली टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन्। टोलीमा कुशल मल्लले पुनरागमन गरेका छन् भने सन्तोष यादवले पहिलो पटक स्थान बनाएका छन्।
नेपालले आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को सिरिजअघि त्रिवि मैदानमा युएईसँग टी-२० सिरिज खेल्न लागेको हो।
त्यसपछि नेपालले लिग-२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज नेपालले आयोजना गर्दैछ। नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो।