नेपाल क्रिकेट संघ (क्यान) को वर्तमान नेतृत्वमाथि चरम भ्रष्टाचार, पदको दुरुपयोग, बजेट हिनामिना र क्यानको आवरणमा 'मानव बेचबिखन' सम्मको गम्भीर आरोप लागेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित 'हेलो सरकार' मा दर्ता भएको उजुरीका आधारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यानलाई पत्र काट्दै उठेका गम्भीर प्रश्नमा प्रमाणसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
राखेपले २०८१ असोज ६ गते चलानी नम्बर ६४८/०८१ मार्फत क्यानलाई पत्राचार गर्दै उजुरीमा उठाइएका ६ वटा मुख्य विषयमा बुँदागत राय प्रतिक्रिया र प्रमाणित कागजातहरू यथाशीघ्र उपलब्ध गराउन ताकेता गरेको हो।
हेलो सरकारमा परेको उजुरीको विवरण
२०८१ भदौ १६ गते हेलो सरकारमा 'HS-WEB-183418-EU' टिकट नम्बरमा दर्ता भएको उजुरीमा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, कोषाध्यक्ष पदम खड्का लगायतका पदाधिकारीहरूले संस्थामा अनियमिता गरिएको दाबी गरिएको छ। उजुरीमा उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कडा कानुनी कारबाहीको माग गरिएको छ।
क्यान नेतृत्वमाथि लागेका ६ गम्भीर आरोपहरू:
१. क्रिकेटमा शून्य योगदान र एनपीएल टिकट बिक्री : कोषाध्यक्ष पदम खड्का र उनका भान्जा श्रीधर केसी विदेश भ्रमण र अनुचित लाभका लागि क्यानमा हाबी भएको आरोप छ। नेपाल प्रिमियर लिग का ५०० वटा भीआईपी टिकट हराएको बहाना बनाएर बिक्री गरिएको उजुरीमा उल्लेख छ।
२. नियामक निकायलाई प्रभावमा पार्ने प्रयास : छानबिन प्रभावित पार्न अख्तियार र राखेपका पदाधिकारी तथा उनीहरूका परिवारलाई क्यानको बजेटबाट बिजनेस क्लासको टिकटमा अमेरिका भ्रमण गराएको र "हामीलाई कसैले केही गर्न सक्दैन" भन्दै नियमनकारी निकायलाई नै चुनौती दिएको दाबी गरिएको छ।
३. 'डलर लुट' र बजेटको दुरुपयोग: अध्यक्ष चन्दले वैदेशिक भ्रमणका नाममा डलरमा मोटो रकम लिने, दैनिक रु. ६,००० भत्ता, पिए, ड्राइभर, तेल खर्च र कमिसन लिने गरेको आरोप छ। त्यस्तै, क्यानको गाडी र बजेटलाई व्यक्तिगत सम्पत्ति जस्तै दोहन गरिएको उजुरीमा जनाइएको छ।
४. कर्णालीमा 'पारिवारिक एकाधिकार': कर्णाली प्रदेशमा फर्जी प्रतियोगिता देखाएर भ्रष्टाचार गरिएको आरोप छ। त्यहाँ अध्यक्षमा स्वयं पदम खड्का, सचिवमा भान्जा श्रीधर केसी र कोषाध्यक्षमा छोरा सूर्य थापालाई राखेर बजेट हिनामिना गरिएको दाबी छ।
५. क्यानको आवरणमा मानव बेचबिखन: टी-२० विश्वकपका क्रममा अमेरिकाको भिसा लगाइदिने नाममा मोटो रकम असुल गरी अमेरिकामा आफ्नी छोरीलाई घर किनिदिएको गम्भीर आरोप अध्यक्ष चन्दमाथि छ। अष्ट्रेलिया भ्रमणका लागि गैरकानुनी इनभिटेसन पत्र दिई बैंक खातामा ५ लाखसम्म जम्मा गराएको विषय पनि उजुरीमा उल्लेख छ।
६. फेसबुकबाट संस्था सञ्चालन र बजेट बाँडफाँड : २/३ जना पदाधिकारीको मिलेमतोमा फेसबुक/मेसेन्जरबाट निर्णय गरी क्यान चलाउने गरिएको र विश्वकपको पुरस्कार कोषबाट बोर्ड सदस्यहरूलाई १०/१० लाख बाँडिएको दाबी गरिएको छ।
नेपाली क्रिकेटले राष्ट्रको क्यान नेतृत्वमाथि शृङ्खलाबद्ध रूपमा आर्थिक अपारदर्शिता, सुशासनको कमी र प्रशासनिक लापरवाहीका प्रश्नहरू उठेको राखेपले जनाएको छ।
राखेपका अधिकृत अनन्तादेवी खनालद्वारा हस्ताक्षरित पत्रमा क्यानलाई यी विषयमा स्पष्ट नपारिएसम्म आगामी कदम चालिने चेतावनी दिँदै प्रमाणसहित राय पेस गर्न निर्देशन दिइएको छ। खेलकुद परिषदले यो पत्र प्रधानमन्त्री कार्यालयलाई समेत बोधार्थ पठाएको छ।