दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप २०२७ को छनोट प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ।
विश्वकपको अन्तिम चार स्थानका लागि हुने विश्वकप छनोट प्लेअफ आगामी डिसेम्बर १ देखि २२ सम्म हुनेछ भने त्यसबाट छनोट भएका चार टोलीले फेब्रुअरी २६ देखि मार्च २१, २०२७ सम्म दक्षिण अफ्रिका र नामिबियामा हुने विश्वकप ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्। प्लेअफको आयोजना स्थल अहिलेसम्म सार्वजनिक गरिएको छैन।
१० टोली सहभागी हुने ग्लोबल छनोटमा वेस्ट इन्डिज र आयरल्यान्डसहित लिग–२ बाट आउने चार टोली तथा प्लेअफबाट आउने चार टोली रहनेछन्। आयरल्यान्ड भने ३० सेप्टेम्बरमा कायम आईसीसी एकदिवसीय वरीयताका आधारमा छनोटमा धकेलिएको हो।
ग्लोबल छनोटमा सहभागी १० टोलीमध्ये शीर्ष चार टोलीले २०२७ को विश्वकपमा स्थान बनाउनेछन्। विश्वकप आयोजक दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियासहित वरीयताका आधारमा अन्य आठ टोलीले भने यसअघि नै विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन्। भारत, न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, श्रीलंका, अफगानिस्तान र बंगलादेश वरीयताका आधारमा विश्वकपमा पुगिसकेका छन्।
प्लेअफमा आठ टोली
विश्वकप छनोट प्लेअफमा क्रिकेट विश्वकप लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका शीर्ष चार टोली सहभागी हुनेछन्।
हाल लिग–२ को पुछारमा रहेका टोलीमा नामिबिया, क्यानडा, नेपाल र यूएई छन्। च्यालेन्ज लिगबाट प्लेअफमा आउने चार टोली भने हालको अवस्थाअनुसार इटाली, युगान्डा, जर्सी र कुवेत हुन्।
यसरी प्लेअफमा कुल आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्लेअफबाट चार टोलीले फेब्रुअरीमा हुने १० टोलीको ग्लोबल छनोटमा स्थान बनाउनेछन्।
नेपालका लागि दुई बाटा
नेपालका लागि विश्वकप पुग्ने बाटो अझै खुला छ। नेपालले लिग–२ को अन्तिम चरणमा शीर्ष चारमा स्थान बनाउन सके सिधै ग्लोबल छनोटमा पुग्नेछ। आइसिसीका अनुसार लिग–२ को शीर्ष चार टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन्।
तर शीर्ष चारमा पुग्न नसके नेपालले प्लेअफ खेल्नुपर्नेछ। त्यसबाट अगाडि बढेपछि मात्र फेब्रुअरीमा हुने ग्लोबल छनोटमा पुग्नेछ।
अर्थात्, नेपालका लागि अहिले विश्वकप छनोटको बाटो दुई चरणमा विभाजित छ—लिग–२ बाट सिधै ग्लोबल छनोटमा पुग्ने वा प्लेअफको कठिन बाटो पार गरेर त्यहाँ पुग्ने।
ग्लोबल छनोटमा पुगेपछि के हुन्छ?
१० टोलीबीच हुने ग्लोबल छनोटबाट चार टोलीले २०२७ विश्वकपको मुख्य प्रतियोगितामा स्थान बनाउनेछन्। छनोट प्रतियोगिताको विजेता टोली सिधै विश्वकपको समूह चरणमा पुग्नेछ।
बाँकी तीन टोलीले विश्वकपको सुरुआतमा नामिबियामा तीन खेलको सुपर सिरिज खेल्नेछन्। उक्त सिरिजको विजेता पनि विश्वकपको मुख्य समूह चरणमा प्रवेश गर्नेछ।
विश्वकप २०२७ अक्टोबर–नोभेम्बरमा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुनेछ।