नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीमा रहेको पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्ता मेन्डिस नेपाल आइपुगेका छन्।
श्रीलंकाका पूर्व स्टार स्पिनर मेन्डिस आइतबार नेपाल आइपुगेका हुन्। उनी अब पोखरा एभेन्जर्सको टोलीसँग जोडिँदै बन्द प्रशिक्षण सञ्चालन गर्नेछन्।
एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म आयोजना हुँदैछ। प्रतियोगिताको तयारीस्वरूप पोखराले घरेलु मैदानमा आफ्नो टोलीलाई बन्द प्रशिक्षणमा राख्ने तयारी गरेको हो।
यस सिजन पोखरा एभेन्जर्सले बंगलादेशका चर्चित अलराउन्डर शाकिब अल हसनलाई आबद्ध गरेर टोलीलाई थप बलियो बनाएको छ। शाकिबको आगमनसँगै पोखराको टोलीप्रति यसपटक विशेष आकर्षण देखिएको छ।
पोखराले सिजन–३ का लागि मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरेको थियो।
त्यस्तै, अक्सनमार्फत विवेक राना मगर, सुदीप आर्याल, सन्नी बीके, विपिन आचार्य र प्रतीक पोखरेललाई टोलीमा भित्र्याएको छ।