नेपाली क्रिकेट टोली आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को आफ्नो अन्तिम सिरिज खेल्न ओमान पुगेको छ।
ओमान, नेपाल र क्यानडाबीच हुने त्रिकोणात्मक सिरिज नेपालका लागि लिग–२ को अन्तिम चार खेल हुन्। नेपालले सिरिजमा पहिलो खेल असोज २५ गते क्यानडासँग खेल्नेछ।
नेपालले लिग–२ का नौ सिरिजमध्ये आठ सिरिज पूरा गरिसकेको छ। ३६ खेलको प्रतियोगितामा नेपालले ३२ खेल खेलिसकेको छ भने अब ओमानमा चार खेल खेल्न बाँकी छ। त्यसैले ओमान सिरिज नेपालको लिग–२ अभियानको अन्तिम परीक्षा हुनेछ।
तर नेपालको लक्ष्य केवल चार खेल जित्नुमा सीमित छैन। यो सिरिजले नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाउने हो कि प्लेअफको बाटो समात्ने हो, त्यससँगै आगामी दिनमा आफ्नो एकदिवसीय हैसियत कसरी कायम राख्ने भन्ने विषयमा पनि महत्वपूर्ण प्रभाव पार्नेछ।
अंक तालिकामा नेपाल सातौं
अहिले नेपाल ३२ खेलबाट ११ जित, १९ हार र दुई खेलमा नतिजाविहीन हुँदै २४ अंकसहित सातौं स्थानमा छ। नेपालभन्दा माथि क्यानडा २५ अंकसहित छैटौं, नामिबिया २९ अंकसहित पाँचौं र ओमान ३१ अंकसहित चौथो स्थानमा छन्।
तालिकाको शीर्षमा स्कटल्यान्ड ४५ अंकसहित छ। अमेरिका ४३ र नेदरल्यान्ड्स ३८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
नेपालले अब चार खेल खेल्न बाँकी रहेकाले अधिकतम आठ अंक जोड्न सक्छ। त्यस अवस्थामा नेपाल ३२ अंकसम्म पुग्न सक्छ। यही कारण नेपालका लागि शीर्ष चारमा पुग्ने सम्भावना निकै कठिन बनेको छ।
नेपालले चारै खेल जिते पनि शीर्ष चारमा पुग्न अहिलेको अंकअन्तर र अन्य टोलीका खेलको परिणाममा धेरै कुरा निर्भर हुनेछ। त्यसैले ओमान सिरिजलाई नेपालका लागि सिधै विश्वकप छनोटमा पुग्नेभन्दा पनि आफ्नो स्थिति सुधार्ने र एकदिवसीय हैसियत जोगाउने निर्णायक अवसर का रूपमा हेर्न सकिन्छ।
शीर्ष ६ को दौडमा नेपाल
नेपालका लागि अहिले सबैभन्दा व्यावहारिक लक्ष्य भनेको अंकतालिकामा कम्तीमा छैटौं स्थानमा पुग्नु हो। क्यानका सचिव पारस खड्काले लिग–२ को शीर्ष ६ मा रहने टोलीको एकदिवसीय मान्यता कायम रहने बताएका छन्।
तर यो विषयमा आइसिसीबाट औपचारिक घोषणा भइसकेको छैन। त्यसैले शीर्ष ६ सम्बन्धी व्यवस्थालाई क्यानको भनाइका रूपमा बुझ्नुपर्छ।
नेपालका लागि चार खेलमा राम्रो प्रदर्शन गर्दै क्यानडालाई पछि पार्ने र सम्भव भए नामिबिया तथा ओमानलाई समेत उछिन्ने अवसर छ। त्यसका लागि नेपालले आफ्ना खेल जित्नुका साथै माथि रहेका टोलीको परिणाममा पनि भर पर्नुपर्नेछ।
त्यसैले ओमानमा हुने चार खेल नेपालको एकदिवसीय भविष्यका दृष्टिले अत्यन्त महत्वपूर्ण छन्।
विश्वकपमा पुग्ने नेपालको दुई बाटो
२०२७ को विश्वकपमा पुग्ने नेपालको बाटो भने अझै खुला छ।
आइसिसीको लिग–२ संरचनाअनुसार प्रतियोगिताको शीर्ष चार टोली क्रिकेट विश्वकप छनोटमा पुग्छन्। यही छनोट प्रतियोगिताबाट २०२७ विश्वकपका अन्तिम चार टोली तय हुनेछन्।
नेपालले लिग–२ को अन्तिम चरणमा शीर्ष चारमा स्थान बनाउन सके विश्वकप छनोटमा सिधै पुग्नेछ। तर शीर्ष चारमा पुग्न नसके नेपालले क्रिकेट विश्वकप छनोट प्लेअफ खेल्नुपर्नेछ।
लिग–२ का पुछारका चार टोली र आइसिसी च्यालेन्ज लिगबाट आउने चार टोली गरी आठ टोलीबीच प्लेअफ हुनेछ। त्यसबाट चार टोली क्रिकेट विश्वकप छनोटमा पुग्नेछन्। आइसिसीले प्लेअफलाई विश्वकप छनोटतर्फ जाने पुनः अवसरका रूपमा राखेको छ।
यसको अर्थ नेपालका लागि अहिले दुईवटा बाटा छन्—
पहिलो बाटो : लिग–२ को शीर्ष चारमा पुगेर सिधै क्रिकेट विश्वकप छनोटमा जाने।
दोस्रो बाटो : शीर्ष चारमा पुग्न नसके प्लेअफ खेल्ने, त्यहाँबाट शीर्ष चारमा परेर क्रिकेट विश्वकप छनोटमा पुग्ने।
त्यसैले ओमान सिरिज नेपालका लागि विश्वकपको सपना सकिने वा अघि बढ्ने भन्ने निर्णायक चरणमध्ये एक हो।
प्लेअफमा पुग्यो भने पनि विश्वकपको ढोका बन्द हुँदैन
नेपाल लिग–२ को शीर्ष चारमा पुग्न नसके पनि विश्वकपको दौडबाट बाहिरिने छैन। प्लेअफमार्फत अगाडि बढ्ने अर्को अवसर हुनेछ।
लिग–२ का पुछारका चार टोलीसँगै च्यालेन्ज लिगका चार टोली गरी आठ टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। हालको अवस्थाअनुसार लिग–२ बाट नामिबिया, क्यानडा, नेपाल र यूएई प्लेअफ क्षेत्रतर्फ देखिएका छन्। च्यालेन्ज लिगबाट इटाली, युगान्डा, जर्सी र कुवेतजस्ता टोली प्लेअफमा आउने अवस्थामा छन्। च्यालेन्ज लिगबाट इटाली र युगान्डाले आफ्नो स्थान पक्का गरिसकेका छन्।
प्लेअफबाट चार टोलीले त्यसपछि १० टोली सहभागी हुने क्रिकेट विश्वकप छनोट मा स्थान बनाउनेछन्। डिसेम्बर १ देखि २२ सम्म हुनेछ भने त्यसबाट छनोट भएका चार टोलीले फेब्रुअरी २६ देखि मार्च २१, २०२७ सम्म दक्षिण अफ्रिका र नामिबियामा हुने विश्वकप ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्। डिसेम्बरमा हुने प्रतियोगिता नेपालमा गराउन क्यानले पहल गरिरहेको छ।
१० टोलीको विश्वकप छनोट
क्रिकेट विश्वकप छनोटमा लिग–२ बाट आउने चार टोली, प्लेअफबाट आउने चार टोली तथा वेस्ट इन्डिज र आयरल्यान्ड सहभागी हुनेछन्।
यी १० टोलीमध्ये शीर्ष चार टोलीले २०२७ को विश्वकपमा स्थान बनाउनेछन्।
आईसीसीको नयाँ संरचनाअनुसार छनोट प्रतियोगिताको विजेताले विश्वकपको मुख्य समूह चरणमा सिधै स्थान बनाउनेछ। दोस्रो, तेस्रो र चौथो हुने तीन टोली भने विश्वकप सुरु हुनुअघि हुने तीन टोलीको सुपर सिरिज मा जानेछन्। त्यस सुपर सिरिजको विजेताले पनि विश्वकपको मुख्य समूह चरणमा स्थान बनाउनेछ।
यसरी हेर्दा नेपालका लागि विश्वकपको यात्रा लिग–२ बाटै टुंगिने छैन। शीर्ष चारमा पुग्न नसके पनि प्लेअफ हुँदै क्रिकेट विश्वकप छनोटसम्म पुग्ने बाटो खुला रहनेछ।
२०२७ विश्वकपमा १४ टोली
दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने २०२७ को पुरुष क्रिकेट विश्वकपमा १४ टोली सहभागी हुनेछन्।
आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेसहित आईसीसी एकदिवसीय वरीयताका आधारमा आठ टोलीले ३० सेप्टेम्बर २०२६ को कटअफमा प्रत्यक्ष स्थान सुरक्षित गरिसकेका छन्। बाँकी चार स्थान क्रिकेट विश्वकप छनोटबाट तय हुनेछन्।
प्रत्यक्ष छनोट हुने टोलीमा भारत, अस्ट्रेलिया, पाकिस्तान, इंग्ल्यान्ड, न्युजिल्यान्ड, श्रीलंका, अफगानिस्तान र बंगलादेश रहेका छन्। दक्षिण अफ्रिका र जिम्बाब्वे आयोजकका रूपमा छनोट भइसकेका छन्।
विश्वकप २०२७ अक्टोबर र नोभेम्बरमा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुनेछ। आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता २ अक्टोबरदेखि सुरु हुनेछ।
नेपालका लागि अबको अर्थ
त्यसैले ओमानमा हुने चार खेललाई केवल लिग–२ का सामान्य खेलका रूपमा हेर्न मिल्दैन।
नेपालका लागि यी खेलमा अंक जोड्नु, सातौं स्थानबाट माथि उक्लिनु, सम्भव भए छैटौं वा त्यसभन्दा माथि पुग्नु र आफ्नो एकदिवसीय भविष्य सुरक्षित गर्नु मुख्य चुनौती हो।
साथै, शीर्ष चारमा पुग्ने सम्भावना पूर्ण रूपमा समाप्त नभएसम्म नेपालले त्यसका लागि पनि प्रयास गर्नुपर्नेछ। तर वर्तमान अंकतालिका हेर्दा त्यो बाटो निकै कठिन छ। त्यसैले यथार्थपरक रूपमा हेर्दा ओमान सिरिज नेपालको विश्वकप यात्रालाई प्लेअफबाट अघि बढाउने कि लिग–२ मै आफ्नो स्थिति सुधार्ने भन्ने निर्णायक चरण बनेको छ।