कर्णाली याक्सले नेपाली एथलेटिक्सका पूर्वधावक तथा प्रशिक्षक हरि बहादुर रोकायालाई एक्स्ट्रिम कर्णाली याक्स हिरोजबाट सम्मानित गरेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही र कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गिहेन्द्र घिमिरेले रोकायालाई सम्मान गरे। सम्मान सहित रोकायालाई २ लाख ५० हजार प्रदान गरिएको छ। यो सँगै रोकाय कर्णाली याक्स हिरोजको रूपमा टिमको ब्रान्ड एम्बेसडर रहनेछन्।
कठिन भुगोल र संघर्षलाई छिचोल्दै हरि बहादुर रोकायाले स्कुल जीवनदेखि दौड सुरू गरे। यो उनको यात्रा ओलम्पिकसम्म पुग्यो। उनले १९८८ को सियोल र १९९२ को बार्सिलोना ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए। कुल ११ राष्ट्रिय स्वर्ण पदक जुतेका रोकायाले दक्षिण एसियाली खेलकुदमा ५,००० मिटरमान कास्य पदक प्राप्त गरेका थिए।
एभरेष्ट म्याराथनमा गिनिज बुक अफ वल्ड रेकर्ड बनाएका उनले तीन पटक उपाधि जितेका छन्। सन् १९९९ मा ३ घण्टा ५६ मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै विश्व रेकर्ड बनाए। सन् २००० मा आफ्नै कीर्तिमान सुधार गरे। खेल जीवनपछि प्रशिक्षणमा होमिएका उनी कर्णालीमा हरि गुरूको रूपमा परिचित छन्। उनले जुम्लाबाट राष्ट्रलाई बिश्व रूपा बुढा राजन रोकाया, पुर्ण लक्ष्मी, ट्रेल रनर सानुमाय बुढा मिरा राई जस्ता खेलाडीलाई प्रशिक्षण दिएका छन्।
उनले अहिले कर्णाली स्पोर्टस क्लब स्थापना गरेर निरन्तर प्रशिक्षण र अन्तराष्ट्रिय सहभागिता गराइराखेका छन। साथै रारा-जुम्ला अल्ट्रा म्याराथन समेत आयोजना गर्ने गरेका छन्। क्लब स्थापनाका लागि आफ्नै जग्गा प्रयोग गरे। मिल चलाएर खेलाडीहरूको आवश्यकता पुरा गरिरहेका छन्।
सम्मानको लागि हरि बहादुर रोकायाले कर्णाली याक्सलाई धन्यवाद दिए। उनले प्राप्त गर्ने रकम जुम्लाको खेलाडीको प्रशिक्षण लगायतमा प्रयोग गर्ने बताए। उनले जुम्लामा हाइ अल्टिच्युयट ट्रेनिङ सेन्टरको लागि लामो समयको पहलले पनि संभव नभएको भन्दै नेपाली खेलाडी कै लागि सो सेन्टर जरूरी भएको बताए।