आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले २३५ रन बनाएको छ।
ओमानको अल अमेरातस्थित क्रिकेट मैदानमा टस जितेर क्यानडाले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो। नेपालले जितका लागि क्यानडासामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपालको सुरुआत भने निकै खराब रह्यो। ओपनर आसिफ शेख ४ रन बनाएर आउट भए भने इशान पाण्डेले खाता खोल्न सकेनन्। अर्जुन कुमाल पनि २३ रन बनाएर आउट हुँदा नेपालले १७ ओभरको समाप्तिमा ५६ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो।
सुरुआती ब्याटर सस्तैमा आउट भएपछि दबाबमा परेको नेपाललाईरोहित पौडेल र बसिर अहमदले सम्हाले। यी दुईले चौथो विकेटका लागि ७७ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्सलाई लयमा फर्काए।
बसिर ५७ बलमा ३ चौकासहित ३० रन बनाएर आउट भए। त्यसपछि पनि रोहितले एकतर्फबाट नेपालको इनिङ्स सम्हालिरहे। उनले १२७ बलमा ८ चौका र एक छक्काको मद्दतले १०१ रन बनाए। रोहितको शतक नेपालको इनिङ्सको मुख्य आकर्षण बन्यो। उनी ४८.३ ओभरमा आउट भएका थिए।
रोहितको शतकसँगै नेपालले सम्मानजनक योगफलतर्फ अघि बढ्ने आधार बनाएको थियो। तर मध्यक्रमका अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन्। दीपेन्द्रसिंह ऐरी ६ रन, करण केसी ४ रन र नन्दन यादव २ रनमा आउट भए।
अन्तिमतिर गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै नेपालको रनगति बढाए। उनले ३४ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन बनाए। गुल्सनको ब्याटिङले नेपाललाई अन्तिम पाँच ओभरमा ४४ रन जोड्न मद्दत गर्यो। उनी ४७.५ ओभरमा आउट भए।
सन्दीप लामिछानेले अविजित २ रन बनाए भने ललित राजवंशीले पनि २ रन जोडे। नेपालले अतिरिक्तबाट १३ रन पाएको थियो।
क्यानडाका लागि अखिल कुमारले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा ६८ रन खर्चिए। सुखजिन्दर सिंहले ३ तथा जाहिद शिरजादले २ विकेट लिए।
विश्वकप लिग–२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा छ। ३२ खेलबाट ११ जितसहित २४ अंक जोडेको नेपालको नेट रनरेट −०.०८९ छ। छैटौँ स्थानमा रहेको क्यानडाको ३३ खेलबाट २५ अंक छ।
नेपालको विश्वकपमा सिधै छनोट हुने सम्भावना भने समाप्त भइसकेको छ। लिग–२ को शीर्ष चार स्थानमा रहने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। नेपालले अब शीर्ष चारमा रहेर सिधै विश्वकप छनोटमा पुग्ने अवसर गुमाइसकेको छ।
लिग–२ मा सहभागी आठ टोलीले नौवटा सिरिज खेल्छन्। प्रत्येक सिरिजमा चार खेल हुने भएकाले सबै टोलीले कुल ३६ खेल खेल्छन्। नेपालले अहिले अन्तिम सिरिज खेलिरहेको छ। त्यसैले बाँकी खेलमा जित निकाल्नु नेपालको अंकतालिकामा स्थान सुधार गर्न महत्त्वपूर्ण हुनेछ।