रोहित पौडेलको शतक र गुल्सन झाको आक्रामक ब्याटिङसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा क्यानडालाई २४ रनले पराजित गरेको छ।
यो जितसँगै नेपाल अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।
ओमानको अल अमेरातस्थित क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो।
क्यानडाका लागि अखिल कुमारले अविजित ३० रन बनाए। कप्तान हम्जा तारिक र श्रेयस मुभाले समान २६ रन जोडे भने ओपनर आरोन जोन्सनले ४४ रन बनाए। नेपालका सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र नन्दन यादवले समान दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो।
नेपालको सुरुआत खराब रह्यो। आसिफ शेख ४, इशान पाण्डे शून्य र अर्जुन कुमाल २३ रनमा आउट हुँदा नेपालले ५६ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो।
त्यसपछि रोहित पौडेल र बसिर अहमदले चौथो विकेटका लागि ७७ रनको महत्त्वपूर्ण साझेदारी गरे। बसिर ५७ बलमा ३० रन बनाएर आउट भए। रोहितले भने एकतर्फबाट इनिङ्स सम्हाल्दै १२७ बलमा आठ चौका र एक छक्काको मद्दतले १०१ रन बनाए। उनी प्लेयर अफ द म्याचसमेत घोषित भए।
मध्यक्रमका अन्य ब्याटरले ठूलो योगदान दिन नसकेपछि नेपाल दबाबमा परेको थियो। दीपेन्द्रसिंह ऐरी ६, करण केसी ४ र नन्दन यादव २ रनमा आउट भए।
अन्तिमतिर गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै नेपालको स्कोर उकासे। उनले ३४ बलमा चार चौका र तीन छक्कासहित ४८ रन बनाए। गुल्सनको विस्फोटक ब्याटिङका कारण नेपालले अन्तिम पाँच ओभरमा ४४ रन जोड्न सफल भयो।
क्यानडाका अखिल कुमारले चार विकेट लिए भने सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट हात पारे।
अंक तालिकामा नेपाल छैटौँ
क्यानडालाई हराएसँगै नेपाल विश्वकप लिग–२ को अंक तालिकामा छैटौँ स्थानमा पुगेको छ। ३३ खेल खेलेको नेपालले १२ जित, १९ हार र दुई खेलमा नतिजा नआउँदा २६ अंक जोडेको छ।
क्यानडा भने ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको छ। क्यानडाले १० खेल जित्दा १९ खेलमा हार बेहोरेको छ भने पाँच खेलमा नतिजा आएको छैन।
अंक तालिकाको शीर्ष स्थानमा अमेरिका ३४ खेलबाट ४७ अंकसहित छ। स्कटल्यान्ड ३६ खेलबाट ४५ अंकसहित दोस्रो र नेदरल्यान्ड्स ३२ खेलबाट ३८ अंकसहित तेस्रो स्थानमा छन्। ओमान २९ खेलबाट ३३ अंक जोड्दै चौथो स्थानमा छ।
लिग–२ मा सहभागी आठ टोलीले नौ सिरिजमा प्रतिस्पर्धा गर्छन्। प्रत्येक सिरिजमा चार खेल हुने भएकाले सबै टोलीले कुल ३६ खेल खेल्नेछन्। नेपालले अहिले अन्तिम सिरिज खेलिरहेको छ।
शीर्ष चारमा रहने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। नेपालले शीर्ष चारमा रहेर सिधै छनोट प्रतियोगितामा पुग्ने सम्भावना भने गुमाइसकेको छ।