ओमानविरुद्धको आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरे पनि मध्यक्रमको साझेदारी र करण केसीको विस्फोटक ब्याटिङमा प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो।
नेपालले १७ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो। आसिफ शेख १५ बलमा ४ रन बनाएर आउट भए। त्यसपछि अर्जुन कुमाल र इशान पाण्डेले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हाले। इशान ५५ बलमा ४ चौकासहित ३७ रन बनाएर आउट भए भने अर्जुनले ५९ बलमा ४ चौकासहित ४० रन जोडे।
नेपालले ८३ रनमा तेस्रो विकेट गुमाएको थियो। त्यसपछि रोहित पौडेल र बसिर अहमदले चौथो विकेटका लागि ८६ रनको महत्वपूर्ण साझेदारी गरे। यही साझेदारीले नेपालको इनिङलाई मजबुत बनायो।
रोहितले ६७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ६१ रन बनाए। उनी नेपालको इनिङमा अर्धशतक बनाउने एकमात्र ब्याटर रहे। बसिरले ५० बलमा ३ चौकासहित ३७ रनको योगदान दिए।
रोहित १९१ रनको अवस्थामा पाँचौँ विकेटका रूपमा आउट भएपछि नेपालले लगातार विकेट गुमायो। दीपेन्द्रसिंह ऐरीले १७ बलमा २२ रन बनाए भने सुन्दीप जोरले १२ बलमा १० रन जोडे।
अन्तिमतिर करण केसीले आक्रामक ब्याटिङ गर्दै नेपालको स्कोर उकासे। उनले केवल १६ बलमा १ चौका र ४ छक्कासहित ४० रन बनाए। करणको २५० को स्ट्राइक रेटको ब्याटिङले नेपाललाई अन्तिम ओभरहरूमा महत्वपूर्ण रन दिलायो। नन्दन यादव ९ बलमा ७ रन बनाएर अविजित रहे।
बलिङतर्फ ओमानका शाह फैसल, शाकिल अहमद र करण सोनावालेले समान २ विकेट लिए। फैसलले १० ओभरमा ४४, शाकिलले १० ओभरमा ५० र सोनावालेले ९ ओभरमा ३८ रन खर्चिए। हसनैन शाहले एक विकेट लिए पनि १० ओभरमा ७५ रन खर्चिए। जय ओदेड्रा र मुजिबुर अलीले विकेट लिन सकेनन्।
नेपालले अन्तिम १० ओभरमा ७२ रन जोडेको थियो। अन्तिम पाँच ओभरमा नेपालले ३ विकेट गुमाएर ५१ रन बनायो।
यसअघि आइतबार क्यानडालाई हराएसँगै नेपाल आइसिसी विश्वकप लिग–२ को अंक तालिकामा छैटौँ स्थानमा उक्लिएको थियो। ३३ खेलबाट १२ जित, १९ हार र दुई खेलमा नतिजा नआउँदा नेपालले २६ अंक जोडेको थियो। क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको थियो।
अंक तालिकाको शीर्ष स्थानमा अमेरिका ३४ खेलबाट ४७ अंकसहित छ। स्कटल्यान्ड ३६ खेलबाट ४५ अंकसहित दोस्रो र नेदरल्यान्ड्स ३२ खेलबाट ३८ अंकसहित तेस्रो स्थानमा छन्। ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ।
लिग–२ मा आठ टोलीले नौ सिरिजमा प्रतिस्पर्धा गर्छन्। प्रत्येक सिरिजमा चार खेल हुने भएकाले सबै टोलीले कुल ३६ खेल खेल्छन्। नेपालले अहिले अन्तिम सिरिज खेलिरहेको छ।
लिग–२ को अंक तालिकामा शीर्ष चारमा रहने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।
नेपालले शीर्ष चारमा रहेर सिधै छनोट प्रतियोगितामा पुग्ने सम्भावना भने गुमाइसकेको छ। त्यसैले अब नेपालका लागि बाँकी खेलमा राम्रो प्रदर्शन गर्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्नु महत्वपूर्ण हुनेछ।